नेपालको ४०औं प्रधानमन्त्रीमा शेर बहादुर देउवा निर्वाचित



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन । प्रधानमन्त्रीका एक्ला उम्मेदवार रहेका देउवाले संसदमा ३ सय ८८ मत पाएर प्रधानमन्त्री बनेका हुन । उनको विपक्षमा १ सय ७० मत परेको छ । संसदमा प्रधानमन्त्री निर्वाचनमा ५ सय ५८ मत परेको थियो ।

तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश भएको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात कम्तीमा २९७ मत प्राप्त हुनुपर्छ ।

कांग्रेस सभापति देउवाको पक्षमा ३ सय ८८ मत परेको छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको हो ।

तीन सांसद भएको नेकपा संयुक्त, एक(एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका थिए ।


देउवाको पृष्ठभूमी

शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बननुभएको थियो । नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए ।

काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका हुन । शेर बहादुर देउवा तीन पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

२०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्नुभएको छ । उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।

राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन बिताउनुभएको छ । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’ को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए ।

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभएको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो । प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम. ए. गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ ।

६० वर्षीय देउवा एक छोरा जयबिर देउवाका पिता हुनुहुन्छ र उहाँकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् हुनुहुन्छ ।

पारिवारिक पृष्ठभूमि
डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेर बहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा कुल भनेर चिन्दछन । यस कुलको इतिहास अनुसार बैतडी चन्द, डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र ठकुरी बोगटी रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार सम्पन्न र जागिरदार परिवारको रुपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो ।

डोटी राज्यकालमा डडेल्धुराको ‘पश्यगर्खा क्षेत्र’ यिनैको अधिनमा थियो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो । जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका क्षत्रिय राजपूत ठाकुर ठकुरी (ठकुरी) देउवाहरु यसै कुलका पूर्वजहरु थिए । यस कुलका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमन सिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् ।

जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदै सिंह देउवा रजवार भए उदै सिंह देउवा रजवारका एक पुत्र प्रसाद सिंह देउवा रजवार हुन् । प्रशाद सिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवा) बाट ३÷३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेर बहादुर देउवा, लोक बहादुर देउवा, गणेश बहादुर देउवा, प्रेम बहादुर देउवा, ललित बहादुर देउवा र बल बहादुर देउवाको जन्म भयो ।

यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेर बहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेर बहादुर देउवाका एक पुत्र जय बिर देउवा छन् । शेर बहादुरका भतिजा शिव बहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् ।

माईला लोक बहादुर देउवाका पुत्र भान बहादुर देउवा (भानु देउवा) शेर बहादुर देउवाका पिए (स्वकीय) सचिब छन् । निडर, निस्कपटी भावना भएका शेर बहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, वीरगाथा, चैत, धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन ।

यस कुलका ठकुरी देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा (२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् । कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन् । पाल, चन्द, शाही, बमसंग बैबाहिक सम्बन्ध गर्छन । त्यहाँ चन्द थर लेख्छन । आफु डोटीबाट गएको ठकुरी देउवा बताउछन । नेपालमा आफ्नो कुलको व्यक्ति शेर बहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन ।

युवावस्था
एउटा सम्भ्रान्त ठकुरी कुलमा जन्मेर पनि शेर बहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ । डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट स्थानमा जन्मेका शेर बहादुर काठमाडौँ अध्यन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए ।

उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो । युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनि देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए । यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसंग उहाँको लगन गाठो जोडियो

प्रतिक्रिया दिनुहोस्