कतारसँग आसपासका ६ मुलुकको सम्बन्ध विच्छेद, लाखौं नेपालीलाई कस्तो पर्ला असर ?



रोविन पौडेल, काठमाडौं
साउदी अरेबिया, यूएई, इजिप्ट तथा बहराइनलगायत ६ मुलुकले संयुक्तरूपमा कतारसँगको कूटनीतिक सम्बन्ध तोडेसँगै नेपाली श्रमिकमाझ अन्योल छाएको छ।

खाडी क्षेत्रका मुलुकबीच बढ्दो तनावका कारण भविष्यमा कस्तो असर पर्ला भन्ने विषयमा त्यहाँ रहेका नेपाली श्रमिक र नेपालबाट कतार प्रस्थानको पर्खाइमा रहेका नेपालीमाझ प्रश्न चिह्न खडा भएको छ। खाडी मुलुकमा देखिएको यो कूटनीतिक समस्याका कारण कतारमा कार्यरत आप्रवासी रोजगारीमा समस्या देखिने सम्भावनासमेत बढेको छ। कूटनीतिक सम्बन्ध अन्त्यसँगै कतारको वित्तीय बजारमा समस्या आउने र त्यसको परिणाम श्रम बजारमा नकारात्मक पर्ने जानकारहरू बताउँछन्। कतारमा निर्माण कार्यमा संलग्न निजी संस्थाले ठूलो संख्यामा नेपाली कामदारलाई खटाउने हुँदा नेपाली कामदारलाई समस्या सृजना हुने श्रमविद् डा. गणेशमान गुरुङको बुझाइ छ।

‘यससँगै उत्पन्न आर्थिक संकटका कारण कयौं नेपालीले रोजगारी गुमाउन सक्नेछन्। फलस्वरुप नेपाली कामदारले कम रोजगारीको अवसर पाउनेछन्।’ –नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो।

कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि हाल धमाधम निर्माण कार्य जारी छ। यही बेलामा उसका छिमेकी राष्ट्र ऊसँग रुष्ट छन्।

यसरी सम्बन्ध तोडेर निर्माण सामग्री प्रवेशमासमेत रोक लगाए निर्माणकार्यमा निश्चय नै अवरोध सिर्जना हुने उहाँको धारणा छ। ‘तसर्थ कयौं नेपाली स्वदेश फर्किनुपर्ने अवस्था नआउला भन्न सकिन्न’ –उहाँले भन्नुभयो। जसरी पनि ती काम तोकिएको समयमा सम्पन्न गर्नुपर्ने भएकाले कतारले अवश्य नै यसको विकल्प सोच्नेमा आफू ढुक्क भएको उहाँले बताउनुभयो।

कतारको छिमेकीसँगको सम्बन्धमा समस्या आएसँगै त्यहाँ उत्पन्न हुनसक्ने आर्थिक संकटका कारण त्यहाँ रहेका ६ लाखभन्दा बढी नेपाली श्रमिकको रोजगारीमा असर पर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताउनुभयो। उहाँका अनुसार यसको दीर्घकालीन असर नेपाली श्रम बजारमा पर्नसक्ने देखिन्छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै ढकालले भन्नुभयो– ‘यससँगै दुवई हुँदै कतार प्रवेश गर्ने नेपाली कामदार पनि समस्यामा पर्ने निश्चित छ।’

अब नेपाली कामदार कतार प्रवेश गर्न दुबईको ट्रान्जिट प्रयोग गर्न पाउने छैनन्। यसका कारण उडानको टिकट पाउन यात्रुलाई समस्या पर्ने देखिन्छ।’ ट्रान्जिटको टिकट नपाएसँगै कतार जाने यात्रुले कतार एअरलाइन्स र नेपाल वायुसेवा निगमको सेवा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो। यसै कारण, ती एअरलाइन्सको टिकट पाउन गाह्रो हुने, टिकट महँगो हुने तथा ती कम्पनीको मनोमानी बढ्नेछ। फलस्वरूप कतार प्रवेश गर्ने नेपाली कामदारको लागत बढ्ने विज्ञहरूले बताएका छन्।

तर, अहिले नै यसो होला भन्ने पूर्वअनुमान लगाइहाल्न भने नसकिने उहाँको भनाइ छ। ‘त्यहाँको समस्या चाँडै नै हल हुने आशामा हामी रहेका छौं’ –ढकालले भन्नुभयो।

मध्यपूर्वी एसियाली धनी राष्ट्रहरूमा आएको यो दरारले नेपाली श्रमिकको कतार प्रवेशमा केही हदसम्म समस्या सिर्जना हुन सक्ने वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको भनाइ छ। उहाँका अनुसार निर्माण सामग्री अभाव र टिकटमा समस्या आउनाले निश्चितरूपमै समस्या आउनेछ। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘सेवा क्षेत्रमा कतार जाने कामदार समस्यामा नपर्लान् तर निर्माणकार्यमा जाने मजदुर अवश्य मारमा पर्छन्।’

आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै सोमबार छिमेकी मुलुकहरूले कतारसँगको सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन्। ती देशले कतारलाई जमिन, समुन्ती र हवाईमार्ग सबैमा रोक लगाएका छन्। साथै पर्यटक र बसोबास गर्ने कतारी नागरिकलाई देश छोड्न दुई हप्ताको अल्टिमेटम पनि दिएका छन्।

कतार नेपाली श्रमिकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो। कतारमा तीव्ररूपमा बढिरहेको कामदारको माग, आकर्षक पारिश्रमिक तथा दक्ष, अर्धदक्ष तथा अदक्ष सबै खाले जनशक्तिका लागि उपयुक्त रोजगारी उपलब्ध भएकाले कतार नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य रहेको हो। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पनि त्यहाँ उच्च जनशक्तिको माग छ।

आतंकवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

उनीहरूले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने अवस्था उत्पन्न भएको छ। कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्त्याउने गरेको छ।

साउदी अरेबियाले कतारद्वारा आतंकवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको छ। अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरबको आरोप छ।
यसैबीच कतारले आतंकवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ। छिमेकी अरब राष्ट्रहरूले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेको तथा झुटा र आधारहीन भएको जनाएको छ।

सम्बन्ध विच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्थाको सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपायलाई अवलम्बन गरी अघि बढ्ने बताएको छ। कतार पछिल्लो निर्णयबाट आफूमाथि पर्नसक्ने सबै प्रभावलाई साम्य गर्दै अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ। कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षड्यन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ।

सोमबारको अवस्थापछि खाडी क्षेत्रमा थप तनावको अवस्था उत्पन्न भएको छ। ती मुलुकले कतारमा रहेका आफ्ना कूटनीतिक स्टाफलाई फिर्ता बोलाउने निर्णयसमेत गरेका छन्। साउदी अरेबियाले यमनमा भइरहेको लडाइँका क्रममा सामेल भएको कतारी सेनालाई पनि फिर्ता पठाइने जनाएको छ। ती मुलुकले कतारसँग रहेको आफ्नो हवाई र सामुन्द्रिक मार्ग पनि अवरुद्ध गर्ने जनाएका छन्। यसले कतार एयरवेजको उडानमा कस्तो प्रभाव पर्छ भन्ने कुरा खुलिसकेको छैन। कतारका अधिकारीहरूले यो घटनाक्रमका बारेमा कुनै टिप्पणी गरेका छैनन्।

कतार अल उदेइद एयर बेसको केन्द्र पनि हो जहाँ १० हजार अमेरिकी सेना रहेका छन्। यो निर्णयबाट अमेरिकी सेनाको काममा असर गर्छ कि गर्दैन भन्ने कुरा खुलिसकेको छैन। बहराइनले कतारद्वारा हतियारधारी आतंककारीका गतिविधिलाई सहयोग गरेको र इरानका अतिवादी समूहलाई मद्दत गरेको आरोप लगाएको छ।

उडान रद्द, यात्रु मारमा
दिपेन्द्र थापा, काठमाडौं
कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबिया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरू मर्कामा परेका छन्। आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाई मार्गसमेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो। साउदी अरेयिबा र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरू काठमाडौंमा नै अलपत्र परेका छन्।

सोमबार त्यसतर्फ जाने कतार एयरवेजबाहेकका सबै उडान स्थगित भएपछि नेपाली तथा अन्य विदेशी यात्रुहरू अलपत्र परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवानन्द उपाध्यायले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘नेपालबाट सीधै कतार जाने कतार एयरलाइन्सबाहेकका अन्य एयरलाइन्सका उडान रद्द भएका छन्।’

उहाँले काठमाडौंबाट कतारका लागि नेपाल वायु सेवा निगम, हिमालयन एयरलाइन्स र कतार एयरवेजले मात्रै उडान भरेको जानकारी दिनुभयो।
कामाडौंबाट इत्तिहाद, फ्लाई दुबईलगायत अन्य एयरलाइन्सले गर्दै आएको उडान रद्द भएको छ। काठमाडौंबाट कतारबाहेक अन्यदेशको हवाई उडान भने नियमित रहेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो।

श्रम मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीका लागि नेपाली बढी जाने मुलुक कतार रहेको छ। खाडी मुलुकमा आएको समस्याका कारण नेपालीलाई कतार जानका लागि यात्रा गर्न कठिन हुने बताइएको छ। काठमाडौंबाट इत्तिहाद, फ्लाई दुबईलगायतका एयरलाइन्सले काठमाडौं, आबुधावी र दोहाका लागि यात्रुहरू लग्ने गरेका थिए। अब नेपाली काठमाडौं–दोहा उडानमार्फत् मात्र आउन र जान पाउनेछन्।

सस्तो वायुसेवाका रूपमा परिचित फ्लाइ दुबईले दोहा–काठमाडौंको उडान रद्द गरेको छ। बहराइनको गल्फ एयर र इजिप्ट एयरले कतारको उडान स्थगित गर्ने भएका छन्। कतार एयरवेजको दुबई, अबुधाबी, रियाद र कायरो जस्ता स्थानमा गर्ने उडानहरू रोकिएको छ। कतार एयरले प्रत्येक दिन ती स्थानमा दर्जनौं उडान गर्ने गरेको थियो।

अवस्था बुझ्न पत्राचार
काठमाडौं, (नेस)
कतारसँग उसका छिमेकी मुलुकहरूले कूटनीतिक सम्बन्ध तोडेपछिको वस्तुस्थितिलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कतारसहित अन्य खाडी राष्ट्रहरूमा देखिने परिस्थितिलाई मूल्यांकन गरेर खबर पठाउन परराष्ट्र मन्त्रालयले सोमबार ती मुलुकहरूमा रहेका नेपाली दूतावास र कूटनीतिक नियोगलाई पत्राचार गरेको छ।

सो मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई भने– ‘कतारसहित आसपासका मुलुकहरूमा रहेका नियोगहरूलाई स्थानीय वस्तुस्थिति मूल्यांकन गरी खबर पठाउन निर्देशन दिइएको छ।’

प्रतिक्रिया दिनुहोस्