लाप्राकका भूकम्पपीडित महिलाद्वारा कागज उत्पादन



सन्तोष अधिकारी, गोरखा

भूकम्पले पूरै बस्ती नै विस्थापित भएपछि अहिले लाप्राकीहरू रिन्जिलुङ डाँडामा अस्थायी टहरामा बस्दै आएका छन्। पुरानो गाउँमा दीर्घकालीन रूपमा बस्ती विस्तार गर्न नमिल्ने भूगर्भ विद्हरूको रिपोर्टका आधारमा लाप्राकीहरू सो डाँडामा सरेका हुन्।

स्थानीय गुप्सीपाखामा एनआरएनले घर बनाउने भएपछि गुप्सीपाखाबाट सो ठाउँमा सरेका हुन्। भूकम्पले घरबार विहीन भएका लाप्राकीहरू अहिले विभिन्न आयमुलक काममा पनि लागेका छन्। गुप्सी पाखामा एनआरएनले करिब छ सय लाप्राकीको काम त एकातिर छँदैछ एकतिर लाप्राकीहरू उद्यमी समेत बन्न थालेका छन्। भूकम्पपीडितका लागि विभिन्न दातृ निकायको सहयोगमा तालिम लिई लाप्राकीले उद्यम शुरू गरेका हुन्।

कोहीले होटल सञ्चालन गरे, कोहीले सिस्नु पाउडर बनाउने उद्योग शुरू गरे भने कोहीले भने नेपाली कागज उत्पादन शुरू गरेका छन्। केयर नेपालले स्वाँरा सघन गाउँविकास केन्द्रको सहयोगमा १५ जना लाप्राकी महिलाले उद्यम शुरू गरेका हुन्। एकल तथा विपन्न महिलाले उद्यम शुरू गरेका छन्। केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रममार्फत् महिलाले नेपाली कागज उत्पादन शुरू गरेका हुन्। स्थानीय वनमा भएको लोक्ताको प्रयोग गरी महिलाले नेपाली कागज उत्पादन शुरू गरेका हुन्।

‘लाप्राकको वनमा लोक्ता प्रशस्तै पाइने रहेछ,’ स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले भन्नुभयो–‘यहाँ नेपाली कागज बनाउन जान्नेहरू पहिलेदेखि नै हुनु हँुदो रहेछ। उहाँहरूले मेसिनहरूको सहयोग माग्नु भयो हामीले सहयोग गर्यौं। अहिले उत्पादन शुरू भएको हो। जंगलमा लोक्ताको संरक्षण र उत्पादन विस्तार पनि गाउँलेले गर्ने बताउनु भएको छ।’

केयर नेपाल र स्वाँरा सघनले उत्पादन भएको सामग्री सुकाउने मेसिन र फ्रेम सहयोग गरेको हो। तिनै संस्थाले गुणस्तरीय नेपाली कागज उत्पादन गर्न भोजपुरबाट प्रशिक्षक मिङ्मार शेर्पालाई झिकाएको केयर नेपालका खाद्य सुरक्षा थतथा जिविकोपार्जन कार्यक्रम अधिकृत लेखनाथ अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्