भन्सार छुटको चिनी आयातमा ढिलाइ



नेपाल समाचारपत्र
काठमाडौं
साल्ट ट्रेडिङ कर्पोरेसनले भन्सार छुटमार्फत् ल्याउन लागेको ३० हजार मेट्रिक टन चिनी आयातमा ढिलाइ गर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। साल्ट ट्रेडिङले समयमै चिनी आयात नगर्दा अहिले उपभोक्ताले ९५ रुपियाँदेखि १ सय १० रुपियाँसम्म प्रतिकिलोका दरले चिनी खरिद गरिरहेका छन्।

साल्ट्र ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले पहिलो चरणमा करिब १ हजार क्विन्टल वीरगन्ज नाकामार्फत् नेपाल भित्रिसकेको भए पनि आन्तरिक ढुवानी र बिक्री वितरणमा अझै केही समय लाग्ने बताउनुभयो। प्रवक्ता राजभण्डारीले चिनी ढुवानीका क्रममा ढिलाइ भएको र वीरगन्ज भित्रिएको चिनी आपूर्ति मन्त्रालयको स्वीकृति पाएपछि केही दिनभित्रै बिक्री वितरण गरिने बताउनुभयो। यसअघि गत माघमा उखुको मूल्य बढेको र बजार मागअनुसार चिनी आपूर्ति हुन नसकेको भन्दै निजी क्षेत्रका व्यवसायीले चिनीको मूल्य प्रतिकिलो ९५ रुपियाँदेखि सय रुपियाँसम्म पुर्याएका थिए। बजारमा चिनीको अभाव भएको भन्दै निजी क्षेत्रले मनोमानी रूपमा मूल्य बढाएपछि साल्ट ट्रेडिङले सरकारसँग ५० हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार छुटमा आयातका लागि अनुमति मागे पनि ३० हजार मेट्रिक टन चिनीको आयातका लागि मात्रै अनुमति पाएको थियो।

भन्सार छुटमामार्फत्को चिनी आएपछि आकासिएको चिनीको मूल्य घट्ने भए पनि ट्रेडिङले आयातमा ढिलाइ गर्दा निजी क्षेत्रले बजारमा मनोमानी ढंगले मूल्य निर्धारण गरिरहेका छन्। साल्ट ट्रेडिङसंँग मौज्दात नभएको मौका पार्दै निजी क्षेत्रका व्यवसायीले गत फागुनमा एकैपटक १५ प्रतिशतसम्म मूल्य बढाएका थिए। भन्सार छुटमार्फत आयात गरिएको चिनी प्रतिकिलो ८० रुपियाँदेखि ८३ रुपियाँ पर्ने राजभण्डारीले बताउनुभयो। यसरी साल्ट ट्रेडिङले सस्तो मूल्यमा बिक्री वितरण गर्दा हालको मूल्यमा १० रुपियाँदेखि १५ रुपियाँसम्म मूल्य घट्नेछ।

मागअनुसार बजारमा चिनी कम भएको र स्वदेशी उद्योगले उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य घट्ने प्रवक्ता राजभण्डारीले बताउनुभयो। निजी क्षेत्रले उत्पादन घटेको र बजार माग बढेको भने पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र उद्योग विभाग र उपभोक्ताकर्मीले गरेको गरेको अध्ययन अनुगमनमा भने उद्योग र निजी क्षेत्रले अत्याधिक रूपमा चिनीको मौज्दात राखी बजारमा कृत्रिम अभाव देखिएको भनी प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अनुसार उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य बढाए उद्योगी व्यवसायीले मूल्य बढाउन उत्पादित चिनी बजार नै नपठाई कृत्रिम अभाव सिर्जना गरेको उल्लेख छ। उखुको मूल्य बढेको भन्दै मूल्य बढाएको चिनी उद्योगहरूले लागतमा अत्याधिक नाफा खाएको भेटिएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्