बजारमा पुगेन कर्णालीको सिमी र फापर



हेमन्त जोशी, काठमाडौं
खाद्य संथानले कर्णाली अञ्चलबाट संकलन गरेको सिमी र फापर बजारमा वितरण हुन नसक्दा गोदाम मै थन्किएको छ। संस्थानले साल्ट ट्रेडिङ कर्पोरेसनसंग सहकार्य गरी बिक्री वितरण गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको भएपनि उक्त सिमी र फापर बजारसम्म पुग्न सकेको छैन।

संस्थानले थापाथली डिपोबाट मात्र बिक्री वितरण गर्ने गरकोमा उक्त वस्तुको खपत भने निकै न्युन छ। वितरण कार्य प्रभावकारी हुन नसकेपछि ती वस्तुहरूको विक्री वितरणका लागि साल्ट ट्रेडिङलाई जिम्मा लगाउने तयारी समेत गरेको।

संस्थानका प्रवक्ता तथा विक्री वितरण विभाग प्रमुख शंकर सापकोटाले कर्णाली अञ्चलका जिल्लाहरूबाट खरिद गरिएको अर्गानीक सिमी र फापरलाई विक्री वितरण गरिदिन साल्ट्र ट्रेडिङलाई पटक पटक आग्रह गरेको बताउनुभयो।

नेपाल समाचारपत्रसंग कुरागर्दै सापकोटाले भन्नुभयो– ‘हामीले सोमबार पनि सोही विषयमा साल्ट ट्रेडिङलाई पत्र पठाएका छाँै। पत्रको जवाफ आएपछि मात्र कसरी अगाडि बढ्ने भन्ने कुराको निरक्यौल हुन्छ।‘

त्यस्तै साल्ट ट्रेडिङले सिमीको विक्री वितरणमा समस्या नरहेपनि फापरमा भने समस्या रहेको जनाएको छ। साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले फापर पिसेर बजार पठाउनकालागि आफुसंग पिसानीका उपकरणहरू नरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘खाद्य संस्थानले नै पिसेर हामीलाई बिक्री वितरणका लागि दिने हो भने त्यसमा कुनै समस्या हुने छैन।’

कर्णाली क्षेत्रमा उत्पादन भएका अर्गानिक उत्पादनलाई बजार प्रवद्र्धन गर्ने उदेश्यले संस्थानले डोल्पा बाहेकसबै जिल्लामा कृषि उपज वस्तुहरूको संकलन केन्द्रहरू स्थापना गरि सिमी र फापर संकलन गरिरहेको छ। बैशाख मसान्त सम्ममा संस्थानले ७ सय ६५ क्विन्टल सिमी र २ सय ९५ क्विन्टल फापर खरिद गरिसकेको छ। कर्णालीका ५ वटा जिल्लामा संस्थानका शाखा कार्यालयहरूले सिमी प्रति किलो १ सय १० रुपियाँ देखि १ सय ३५ रुपियाँ सम्म र फापर सबै जिल्लामा प्रति किलो ८५ रुपियाँका दरले खरिद गरेको थियो। खाद्य संस्थानका अनुसार ढुवानी र प्याकिङ खर्च जोडेर प्रतिकेजी सिमी १ सय ५० रुपियाँ र फापर ९० रुपियाँ प्रति केजी निर्धारण गरेको छ भने साल्ट ट्रेडिङले बिक्री गर्दा पनि संस्थानले निर्धारण गरेको मुल्य अनुसार नै बिक्री वितरण गर्नेछ।

खाद्य संस्थाको वितरण केन्द्रले न्युन परिणाममा मात्र बिक्री गरेपछि बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङले उपत्यकाको ४ वटा र काभ्रेको बनेपामा एउटा वितरण केन्द्रबाट उपभोक्तामाझ पु¥याउन लागेको हो। कालिमाटी, सतुंगल, भक्तपुर, कोटेश्वर र बनेपामा गरी पाँचवटा स्थानमा बिक्री डिपोहरू मार्फत बिक्री वितरण हुने प्रवक्ता राजभण्डारीले जानकारी दिनुभयो।

यसअघि कर्णाली अञ्चलका जिल्लामा किसानले उत्पादन गरेका वस्तुलाई बजारमा प्रवद्र्धन गर्ने उदेश्यले संस्थानले आफै बिक्री गर्ने गरी खरिद गरेको थियो। बजार पहँुच नभएकै कारण किसानको उत्पादन खेर नजाओस भन्ने उदेश्यले ती जिल्लाहरूबाट वस्तु खरिद गरेको संस्थानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो।

संस्थानले हाल सिमित मात्रामा खरिद गरेपनि विस्तारै खरिदको दायरा बढाउँदै लैजाने उहाँले बताउनुभयो। यसरी संस्थानबाटै खरिद र वितरण गर्दा बिचौलियाहरू निरुत्साहित भएर किसानले पनि राहत पाएको प्रवक्ता सापकोटाले बताउनुभयो।

कर्णाली क्षेत्रमा उत्पादित वस्तुको बजार प्रवद्र्धन र बिस्तारका लागि गत आर्थिक वर्षमा सरकारले १ करोड रुपियाँ विनियोजन गरेपछि संस्थानले उवा, फापर, सिमी लगायतका वस्तुहरू खरिद गरेर काठमाडांैमा बिक्री गरेको थियो। हाल खाद्य संस्थानले उपत्यकाकालागि बाग्मती अञ्चल कार्यालयको गोदाम थापाथलीबाट १ र २ किलोका प्याकेट बनाएर फापर र सिमी बिक्री वितरण गर्दै आएको छ।

थप पाँच ठाँउमा खाद्य संस्थानको बिक्री डिपो खाद्य संस्थानले उपत्यकाका बिभिन्न ठाँउमा बिक्री डिपो खोल्नका लागि आन्तरिक तयारी थालेको छ।

संस्थानका प्रवक्ता तथा विक्री वितरण विभाग प्रमुख सापकोटाले निश्चित ठाँउ तोकेको नभएपनि ललितपुर, चावहिल, कलंकी, भक्तपुर र कोटेश्वर क्षेत्रमा संथानको आफ्नै डिपो संचालनमा ल्याउन लागिएको बताउनुभयो। हाल संस्थानले उपत्यकाका लागि थापाथलीमा रहेको अञ्चल कार्यालयबाट मात्र खाद्य सामाग्रीहरू बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्