कुलेखानीका कर्मचारी चौबीसै घण्टा काममा



नेपाल समाचारपत्र
हेटौंडा
निर्वाचन भएका क्षेत्रमा हुनसक्ने सम्भावित ‘ब्ल्याकआउट’लाई मध्यनजरमा राख्दै कुलेखानीका प्राविधिकहरू अतिरिक्त समय काममा खटिरहेका छन्। दिनरात जारी हुने मतगणनामा सम्भावित आकस्मिक विद्युत् विच्छेद हुने अवस्थालाई मध्यनजरमा राख्दै प्राविधिक हाइअलर्टमा बसेका हुन्।

मतगणनास्थललाई विद्युतीय सुरक्षा दिन देशकै विद्युत् उत्पादनको ब्याकअप मानिने कुलेखानीका ९ प्राविधिक थप समय खटेर काम गरिरहेका आयोजनाका एक प्राविधिकले जानकारी दिए। नेपाल समाचापत्रसँगको कुराकानीमा उनले भने– ‘केन्द्रको निर्देशानुसार आवश्यक प्राविधिक तयारी अवस्थामा छन्।’
उनले कुनै पनि समयमा आकस्मिक रूपमा विद्युत् विच्छेद हुनसक्ने आशंकालाई मध्यनजर गरी आफूहरू तयारी अवस्थामा बसेको बताए। पावर हाउससम्बन्धी कुनै प्रकारका प्राविधिक कमी⁄कमजोरीबाट विद्युत् बिच्छेद भए तत्काल मर्मतसम्भारका लागि करिब ३० जनाको समूह तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए।

इलेक्ट्रिकल र मेकानिकलतर्फ प्रत्यक समूहमा कम्तीमा १५ जना प्राविधिक परिस्थिति अनुसार काम गर्न तयारी अवस्थामा रहेको उनले बताए। ‘इलेक्ट्रिकल र मेकानिकल समूहहरू एक अर्काका पूरक रहेकाले प्रत्येक समूहका कर्मचारीहरू आकस्मिकरुपमा विद्युत् बिच्छेद नहोस् र भए पनि तत्काल मर्मत गर्न सहयोग जुटोस् भन्ने उद्देश्यले हामी ड्युटीमा खटिएका छौं,’ उनको भनाइ थियो।
सोमबार दिउँसो इन्द्रसरोवरमा जलसतह १ हजार ५ सय २ दशमलव १९ मिटर थियो। इन्द्रसरोवर भरिन अझ करिब २८ मिटर बाँकी छ। संकलन गरिएकोमध्ये १ हजार ४ सय ८४ मिटर सतह रहेसम्म विद्युत् उत्पादनका लागि प्रयोगमा ल्याउन सकिने प्राविधिकले बताए। सरोवरमा पानी अट्ने क्षमता १ हजार ५ सय ३० मिटर छ।

नेपालभर ‘ब्ल्याकआउट’ भएको बेला कुलेखानीले ब्याट्रीको रूपमा काम गर्ने गर्दछ। यसकारण कुलेखानीलाई देशको महत्त्वपूर्ण विद्युत् उत्पादनगृह मानिएको छ। रनअफ रिभरमा आधारित जलविद्युत् गृहद्वारा उत्पादित विद्युत्ले माग धान्न नसकेको अवस्थामा साँझमा कुलेखानीका दुवै मेसिन सञ्चालन गरिँदै आएको छ। अन्य क्षेत्रमा वर्षाका कारण रनअफ रिभरमा आधारित आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानीलाई भार पर्दैन। अन्य आयोजना राम्ररी सञ्चालन हुनसक्दा कुलेखानीले कममात्र विद्युत् उत्पादन गर्दछ।

मुलुकलाई ‘ब्ल्याकआउट’ हुनबाट जोगाउने उद्देश्यले मानवनिर्मित सबभन्दा ठूलो जलाशय इन्द्रसरोवरलाई जोगाउन दीगो विकास नीति अवलम्बन गरिएको छ। कुलेखानी जलविद्युत्का निम्ति निर्मित इन्द्रसरोवरको पिँधमा माटो तथा बालुवा थुप्रँदै जलाशयको सतह बढेकाले उक्त क्षेत्रको वातावरणीय संरक्षण र दीगो विकास निम्ति निर्मित वातावरणीय व्यवस्थापन विशेष कोष सञ्चालन कार्यविधिलाई परिमार्जन गरी लागु गरिएको हो।

आयुमा ह्रास हुनबाट रोक्न कार्यक्रम सञ्चालन
जिल्ला विकास समिति मकवानपुरले जलविद्युत् आयोजनाकै जीवनको ह्रास हुने सम्भावना रोक्न संरक्षण एवम् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको बताएको छ। त्यसका लागि अव्यवस्थित मानवीय कार्य रोक्न बनाइएको कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरीएको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताउनुभयो।

अव्यवस्थित मानवीय कार्यका कारण माटो तथा बालुवा थुप्रने क्रम बढ्दै गएकाले इन्द्रसरोवरको जीवनमा मात्र नभई पूरै जलविद्युत् आयोजनाकै जीवनको ह्रास हुने खतरा बढेको छ। खतरा न्युनिकरणका लागि सडक निर्माण गर्ने नाममा एक्साभेटर र डोजरजस्ता ठूला मेसिन प्रयोग कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने नीति अगाडि सारिएको थापाले बताउनुभयो। २४औं जिल्ला परिषद्ले कुलेखानीको जलाधार क्षेत्रमा ठूला उपकरण प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।

त्यस्तै जथाभावीरुपमा ग्रामीण सडक निर्माण गरिँदै आएकोमा सरोवरको आयु बढाउन उक्त जलाधार क्षेत्रलाई सम्पूर्ण प्रक्रिया पूरा गरी ‘संरक्षित जलाधार क्षेत्र’ का रुपमखा घोषणा गर्ने निर्णय जिल्ला परिषद्ले गरेको छ।

सडकहरूको निर्माणमा ठूला उपकरण प्रयोग गरिँदा सरोवरको पिंधको सतह करिब १३ मिटर बढेको अधिकृत थापाले बताए। प्रायः वर्षा समयमा जलाधार क्षेत्रका विभिन्न नदी र खोल्साहरूबाट माटो, पात र ढुंगालगायत सरोवरमा थुप्रिने गर्दछ, जसले गर्दा वर्षेनि इन्द्रसरोवरको आयु घट्दो छ।

कुलेखानी जलविद्युत्बाट प्राप्त हुने रोयल्टी शुल्कको निश्चित प्रतिशत जलाधार संरक्षण, सुहाउँदो बृक्षरोपण एवम् बन विकास कार्यमा लगानी गरी जैविक विविधता विकास गर्ने नीति जिल्ला समन्वय समितिले लिएको छ।

प्रतिक्रिया दिनुहोस्