इस्लामावाद ।
पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटाको चमन गेट नजिक यात्रुवाहक रेललाई लक्षित गरेर गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यात्रुले खचाखच भरिएको रेल चमन गेट क्षेत्रबाट गुडिरहेको बेला विस्फोट गराइएको थियो । विस्फोटपछि रेलका केही डिब्बा क्षतिग्रस्त भएका छन् भने घटनास्थलमा ठूलो अफरातफरी मच्चिएको थियो ।
घटनालगत्तै पाकिस्तानी सुरक्षा निकाय, सेना तथा उद्धार टोली घटनास्थल पुगेका थिए । घाइतेहरूलाई क्वेटास्थित विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको कडा निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । बलुचिस्तानमा पछिल्लो समय सुरक्षा चुनौती बढ्दै गएको छ भने रेल, सुरक्षा चौकी र सरकारी संरचनामाथि आक्रमणका घटना दोहोरिन थालेका छन् ।
हालसम्म कुनै समूहले औपचारिक रूपमा आक्रमणको जिम्मेवारी लिएको छैन । सुरक्षा निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।











प्रतिक्रिया