विश्व स्वास्थ्य क्षेत्रले सामना गरेका सबैभन्दा घातक संक्रामक रोगमध्ये इबोला भाइरस रोग पनि एक हो । यो रोग दुर्लभ भए पनि अत्यन्त खतरनाक मानिन्छ । संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना धेरै हुने भएकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई उच्च जोखिमयुक्त महामारीजन्य रोगको सूचीमा राखेको छ ।
इबोला भाइरस पहिलोपटक सन् १९७६ मा अफ्रिकी मुलुक सुडान र तत्कालीन जाइर (हालको डेमोक्रेटिक रिपब्लिक अफ कंगो) मा देखिएको थियो । कंगोको इबोला नदीको नजिक प्रकोप फैलिएकाले यसको नाम इबोला राखिएको हो । त्यसयता अफ्रिकाका विभिन्न मुलुकमा पटक–पटक महामारी फैलिएको छ । विशेष गरी सन् २०१४–२०१६ को पश्चिम अफ्रिकी प्रकोपले विश्वलाई ठूलो त्रासमा पारेको थियो । हजारौं मानिसको मृत्यु भएपछि विश्व समुदायले महामारी नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता महसुस गरेको थियो ।
इबोला भाइरस मानिसमा संक्रमित जनावर वा संक्रमित व्यक्तिको रगत तथा शरीरबाट निस्कने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा सर्छ । फलफूल खाने चमेरा यसको मुख्य प्राकृतिक बाहक मानिन्छ । संक्रमित बाँदर, गोरिल्ला वा जंगली जनावरको मासु प्रयोग गर्दा पनि संक्रमण फैलिन सक्छ । यो रोगको लक्षण सामान्य ज्वरोबाट शुरु हुने भएकाले शुरुमा छुट्याउन कठिन हुन्छ । टाउको एवं शरीर दुख्ने, अत्यधिक कमजोरी हुने, बान्ता आउने, पखाला लाग्ने, पेट दुख्ने लक्षण पनि देखिन्छन् ।
रोग गम्भीर बन्दै जाँदा आन्तरिक तथा बाह्य रक्तश्राव हुन सक्छ । समयमै उपचार नपाए मृत्युको जोखिम धेरै हुन्छ । विश्व स्वास्थ्य संगठनले इबोला नियन्त्रणका लागि ‘छिटो पहिचान, तत्काल आइसोलेसन, सम्पर्क पहिचान, सुरक्षित अन्त्येष्टि र जनचेतना’ लाई मुख्य रणनीति बनाएको छ । हाल इबोला भाइरसको एक प्रकारका लागि खोप र केही उपचार उपलब्ध भए पनि सबै प्रकारका भाइरसविरुद्ध प्रभावकारी औषधि अझै पूर्णरूपमा विकास भइसकेको छैन । त्यसैले रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ ।
नेपालमा अहिलेसम्म इबोलाको संक्रमण पुष्टि भएको छैन । तर विश्व अहिले खुला आवागमनको युगमा पुगेकाले कुनै पनि महामारी सीमाभित्र मात्र सीमित रहँदैन । वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय आवतजावत र कमजोर स्वास्थ्य निगरानी प्रणालीका कारण नेपाल पनि जोखिममुक्त भने छैन । विशेष गरी अफ्रिकी मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।
नेपालजस्तो विकासशील मुलुकका लागि इबोलाजस्ता महामारी ठूलो चुनौती बन्न सक्छन् । हाम्रो स्वास्थ्य प्रणाली अझै सीमित स्रोत, जनशक्ति अभाव र कमजोर पूर्वतयारीको समस्याबाट गुज्रिरहेको छ । त्यसैले सरकारले महामारी व्यवस्थापनलाई केवल आकस्मिक विषय नभई दीर्घकालीन राष्ट्रिय सुरक्षा नीतिका रूपमा लिनुपर्छ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउनुपर्छ । संक्रामक रोग पहिचान गर्ने प्रयोगशाला क्षमता विस्तार, स्वास्थ्यकर्मीलाई विशेष तालिम, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को पर्याप्त व्यवस्था तथा आकस्मिक महामारी प्रतिकार्य योजना तयार राख्न आवश्यक छ ।
जनचेतना अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । नागरिकहरूले कुनै पनि संक्रामक रोगलाई सामान्यरूपमा लिनुहुँदैन । ज्वरो, अत्यधिक कमजोरी वा असामान्य स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । विदेशबाट आएका व्यक्तिमा शंकास्पद लक्षण देखिए सतर्कता अपनाउन आवश्यक हुन्छ । महामारी आउँदा मात्र हतारिने होइन, महामारी आउनै नदिन तयारी गर्नु आजको आवश्यकता हो । इबोला अहिले अफ्रिकाको समस्याजस्तो देखिए पनि भोलिको दिनमा विश्वकै चुनौती बन्न सक्छ । त्यसैले सरकार, स्वास्थ्य निकाय र नागरिक सबै सचेत, जिम्मेवार र तयार हुनै पर्छ ।











प्रतिक्रिया