एमाले केन्द्रीय कमिटी बैठक: ७० वर्ष उमेरहद कायमै,विधानमै सात उपाध्यक्षको प्रावधान



मधुसूदन रायमाझी, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालले यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेरहद कायमै राख्ने भएको छ । एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका दस्तावेजहरूमाथि उठेको प्रश्नको जवाफ दिँदै आइतबार उपमहासचिव विष्णु पौडेलले ७० वर्षे उमेरहद कायमै रहने बताउनुभयो ।

विधान संशोधन कार्यदलका संयोजकसमेत रहेका पौडेलले उमेरहदको विषयमा विधान महाधिवशेनले निर्णय नगर्दासम्म यसलाई कायमै राखिने बताउनुभयो । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएको दस्तावेजमाथि प्रश्न उठाउँदै १० समूहबाट छानिएका समूहका नेताहरूले ७० वर्षे उमेरहद हटाउनुपर्ने सुझाव दिएका थिए ।

बैठकले विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाउने निर्णय गरेको छ । यसअघि ३ हजार प्रतिनिधि रहने भनिएकोमा अब त्यो संख्या घटाउने भएको हो । केन्द्रीय कमिटीको बैठकमा संगठन विभाग प्रमुखसमेत रहेको पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राख्नुभएको थियो । उहाँले एक प्रदेशबाट ५० जनामात्र सहभागी हुन पाउने गरी प्रस्ताव गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधिका रूपमा जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुने गरी प्रस्ताव अघि सारिएको छ ।

त्यसै गरी, एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो । उक्त मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा भएको छलफलमा अधिकांश सदस्यले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । अध्यक्ष केपी शर्मा ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढाइने बताउनुभएको छ । उहाँले सात उपाध्यक्ष राख्ने प्रावधानलाई विधान महाधिवेशनले निर्णय गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकारमा रहँदा महत्वपूर्ण काम गरेको बताउँदै केन्द्रीय सदस्यहरूलाई चुनावमा जान अप्ठेरो नपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘राष्ट्रियताका लागि गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं, हामीलाई केही गाह्रो छैन ।’

बैठकमा अध्यक्ष ओलीले आफूले गरेको संसद् विघटन ठीक भएको दोहो¥याउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले बैठकमा जवाफ दिने क्रममा संसद् विघटन शतप्रतिशत ठीक भएको भन्दै ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘सही भएकाले नै दुईपटक संसद् विघटन गरिएको हो । संसद् विघटन गर्ने विषय हिजो पनि ठीक थियो र भोलि पनि ठीक नै रहनेछ ।’

फरक प्रसंगमा ओलीले माओवादीसँगको पार्टी एकता सोचविचार गरेर नै गरेको जिकिर गर्दै भन्नुभयो– ‘एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन ।’

केन्द्रीय कमिटी बैठक विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनहरूमा केन्द्रित रहेको छ । यही असोज १५ देखि १७ सम्म एमालेले विधान महाधिवेशन गोदावरीको सम्मेलन हलमा गर्ने भएको छ ।

ओलीको प्रस्तावमाथि भुसालको तीनबुँदे फरक मत

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा तीनबुँदे फरक प्रस्ताव राख्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि उहाँले तीनबुँदे फरक मत राख्दै विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ ।

उहाँले पार्टी एकतादेखि विभाजनसम्म उल्लेख गरिएको प्रतिवेदन एकांगी रहेको टिप्पणी गर्दै पार्टी विभाजन हुनुमा सबैको कमजोरी रहेको तर बढी जिम्मेवार अध्यक्ष नै भएको तीनबुँदे प्रस्तावमा उल्लेख गर्नुभएको छ । एमालेको नवौं महाधिवेशनले नयाँ कार्यदिशा तय गरे पनि ठोस कार्यक्रम बन्न नसकेको बताउँदै भुसालले ठोस कार्यक्रम नबन्दा पार्टीले लिएको नयाँ कार्यदिशा प्रस्ट हुन नसकेको आफ्नो प्रस्तावमा उल्लेख गर्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा फरक प्रस्ताव राख्दै भुसालले जनताको बहुदलीय जनवाद (जबज) जप्ने मात्रै भएको टिप्पणी गर्दै भन्नुभएको छ– ‘जसले जप्छ, ऊ पुरस्कृत हुने र जसले लागू गर्छ त्यो चाहिँ किनारा हुने अवस्था आयो ।’

त्यसै गरी पार्टीको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको विषयलाई एजेन्डा नबनाएको भन्दै माधवकुमार नेपाल समूह छोडेर एमालेमै रहेका तेस्रो धारका नेताहरू रुष्ट भएका छन् । आइतबारको केन्द्रीय कमिटीको बैठक उपाध्यक्ष भीम रावलले बहिष्कार गर्नुभएको छ । पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्