विविध कार्यक्रम गरी  विश्व मिर्गौला दिवस मनाइयो


काठमाडौं। 

हरेक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाइने गरिन्छ । यस वर्ष सन् २०२६ मा यो दिवस मार्च १२ मा परेको छ । विश्व मिर्गौला दिवस यस वर्षको नारा “सबैका लागि मिर्गौला स्वास्थ्य – मानिसहरूको हेरचाह, ग्रहको रक्षा” रहेको छ ।

मिर्गौला रोगको बढ्दो समस्या र यसको रोकथाम तथा उपचारबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिन्छ । अध्ययनअनुसार विश्वभर करिब १० जनामध्ये १ जनामा मिर्गौला रोग देखिने गरेको तथ्याङ्क छ ।

यसै अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा बिहीबार बिहान ८ः३० बजे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ‘किड्नी वाक’ पदयात्रा, धिमे बाजा, ब्यानर तथा प्लेकार्डसहितको ¥याली आयोजना गरिएको थियो । ¥याली केन्द्रबाट सुरु भई नपुखु हुँदै भक्तपुर दरबार स्क्वायर, साकोठा, टौमडी, पोटरी स्क्वायर, नासमना, वंशगोपाल, तेखापुखु, भार्वाचो र भक्तपुर मिनिबस पार्क हुँदै पुनः केन्द्रमा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रमको औपचारिक सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, प्रत्यारोपण सेवा लिएका बिरामी र सर्वसाधारण गरी करिब ६०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले केन्द्रले मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार हालसम्म केन्द्रले १,५८६ जनामा मिर्गौला प्रत्यारोपण तथा ३६ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ । साथै दैनिक करिब १५० जनालाई डायलाइसिस सेवा उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो ।

उहाँले केन्द्र साँघुरो स्थानमा सञ्चालन भइरहेकाले सेवा विस्तार गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै केन्द्रका लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । सोही अवसरमा मानव अङ्ग प्रत्यारोपण विकास समितिका अध्यक्ष डा. केशर बहादुर ढकालले केन्द्रलाई भविष्यमा विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, प्रमुख अतिथि मन्त्री गौतमले आफू स्वास्थ्य सचिव हुँदा यस केन्द्रको अवधारणा अघि बढाएको स्मरण गर्दै प्रत्यारोपण केन्द्रले सञ्चालन गरेको अभियानको प्रशंसा गर्नुभयो । उहाँले सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्रका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न आफू पदमा रहँदा वा नरहँदा पनि पहल जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा अन्य अतिथिहरूले पनि यस्ता जनचेतनामूलक कार्यक्रमले मिर्गौला रोगबारे जनतामा जानकारी फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरू पनि अन्य स्वस्थ मानिससरह सामान्य जीवनयापन गर्न सक्षम हुने सन्देश प्रवाह गर्दै अङ्गदान र अङ्ग प्रत्यारोपणलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।