संसारको सबैभन्दा पुरानो पेसा मानिने यो पेसा कहिलेदेखि सुरु भयो भन्न गाह्रो छ। अहिले आएर वेश्यावृत्ति (prostitution) शब्दले हेयभाव व्यक्त गर्ने गरेको छ। व्यापारिक प्रयोजनको लागि गरिने यो पेसालाई अहिले अंग्रेजीमा कमर्सियल सेक्स वर्क (Commercial Sex Work) अर्थात् देह व्यापार भनिन्छ भने यस पेसामा संलग्न महिलालाई देहव्यापारी भन्न थालिएको छ। यस पेसाको व्यापारीकरण हुनुभन्दा पहिले पनि यो पेसा थियो। तर त्यस बेला यो पेसामा लाग्ने महिलाहरूलाई आदर नै गरिन्थ्यो। त्यस्ता महिलाको हकहितका लागि अहिले व्यक्ति तथा संस्थाहरू क्रियाशील भएर अगाडि सरेका छन्।
यस पेसाको सुरुआतको समय एकिन नभए पनि प्रागऐतिहासिक समयदेखि नै यो पेसा सम्मानित थियो भनिन्छ। साथै एक पति-पत्नी विवाह तथा आधुनिक मानवसमाजको आधारशिला पनि यही वेश्यावृत्ति थियो भनिन्छ। विकासका सुरुका समयमा अन्य प्राणीजगत्का नातेदार जस्तै कि गोरिल्ला, चिम्पान्जी, ओराङओटन -वनमान्छे) जस्तै मानव पनि ँमिल्दो जोसँग’ पनि यौनसम्पर्क राख्ने प्यान-सेक्सुअल (Pan-sexual) थिए। समयको परिवर्तनसँगै जोडी बाँध्ने अर्थात् पेयर बन्डिङ (pair-bonding) को कार्य सुरु भयो र यसको विस्तार हुँदै गई संसारभरि फैलियो। तर अझै पनि सबै पुरुष वा महिला जिन्दगीभर एक जोडीसँग मात्र बाँधिएर बस्न सकेको देखिँदैन। विशेष गरेर पूर्वीय समाजमा पहिलेदेखि नै विभिन्न रुपमा वेश्यावृत्ति थियो। यससम्बन्धी मतहरू बाझिएर केही कुरामा प्रशस्तै विवाद भए पनि शायद इतिहास लेखिनुभन्दा पहिलेदेखि नै वेश्यावृत्ति समाजमा व्याप्त रहेको देखिन्छ। कतिपयले अप्सराहरूको कार्य नृत्यसँग मात्र नभई वेश्यावृत्तिसँग सम्बन्धित थियो भन्ने ठान्छन्। भारतवर्षा नगरवधुको प्रचलन पनि थियो। आम्रपाली अनि वसन्तसेना धेरै नै प्रचलित नाम हो। देवीको जस्तै सम्मान दिइने भए पनि उनीहरूको सेवा यति मँहगो हुन्थ्यो कि राजा-महाराजा, युवराज तथा जमिन्दारजस्ता अति नै धनाढय व्यक्तिले मात्रै उनीहरुको सेवा खरिद गर्न सक्थे। नगरवधु बन्न प्रतियोगिता नै हुन्थ्यो र यसलाई समाजमा वर्जित मानिँदैनथ्यो। त्यसैगरी भारतवर्षमा व्याप्त रहेको ँदेवदासी’ प्रथाले पनि त्यसको संकेत गर्छ। धार्मिक वा सांस्कृतिक महत्त्वका साथ देवतासँग विवाह गरेर देवदासी बनाइए पनि कुनै न कुनै रुपमा यौनशोषण भएका उदाहरणहरू प्रशस्तै पाइन्छन्। अहिलेको आधुनिक समाजमा पनि देवदासीको रुपमा रहेका चेलीहरूमध्ये धेरैजसो अन्त्यमा यौनपेसामा धकेलिनुपरेको कुरा विभिन्न प्रतिवेदनहरूले देखाएका छन्। नृत्य गरेर मनोरञ्जन प्रदान गर्नवाट सुरु भएको भनिएको ँवादी’ समुदायको यथार्थ पनि आज हामीसँग स्पष्ट छ। स्वास्थ्य समस्या सामान्यतया स्वास्थ्य समस्याको कुरा गर्दा यौनपेसामा संलग्न व्यक्ति वा महिलाका ग्राहकलाई कसरी बचाउने भन्नेतिर मात्र केन्द्रित भएको देखिन्छ। तर समग्रमा हेर्ने हो भने यौनपेसामा संलग्न दुवै व्यक्ति अर्थात् सेवा दिने व्यक्ति र लिने दुवैको स्वास्थ्य समस्यालाई विचार गर्नुपर्ने हुन्छ। यौनसेवा प्रदान गर्ने व्यक्ति धेरैजसो महिला नै हुने भएकोले त्यसैलाई केन्द्रित गरेर चर्चा गरिएको छ। हिंसाको सिकारः यस पेसामा संलग्न महिला धेरै नै मात्रामा हिंसाको सिकार हुने गर्छन्। शारीरिक चोटपटक, विभिन्न किसिमका यौनरोगहरू वा संक्रमणहरूका साथसाथै मानसिक रुपमा हिंसाको सिकार हुनुपर्ने स्थिति रहन्छ। रोगको संक्रमणः संक्रमणको कुरा गर्दा एचआईभी/एड्स अनि विभिन्न किसिमका यौनरोग प्रमुख हुन्। सामान्य महिलाको तुलनामा यौनपेसामा लागेका महिलालाई यौनरोग वा एचआईभीको संक्रमण हुने सम्भावना बढी हुन्छ। कतिपय परिस्थितिमा आफूले चाहे पनि उनीहरू सुरक्षित यौनसम्पर्क गर्न सक्दैनन्। उनीहरूको कार्यगत जोखिमको कुरा भएर नै बारम्बार उनीहरूलाई यस्ता यौनरोगहरू ग्राहकबाट र्सर्ने र त्यसैसँग बाँच्नुपर्ने हुन्छ। पाठेघर अनि डिम्बवाहिनी नलीको संक्रमण र त्यसको जटिलताको सामना गर्नुपर्ने हुन्छ। जटिलतामध्ये बाँझोपन अर्को प्रमुख समस्या हो। पाठेघरको मुखको क्यान्सर गराउने किसिमका संक्रमणको जोखिममा पनि उनीहरू हुन्छन्। यौनरोग भएका व्यक्तिबाट सेवा लिँदा ग्राहकलाई पनि एचआईभी लगायतका यौनरोगको संक्रमण हुन सक्ने नै भयो, जुन आफ्नी श्रीमती वा यौनसाथीलाई पनि र्सन सक्ने जोखिम रहन्छ।
विशेष गरेर आर्थिक वा अन्य कारणले उनीहरूले असुरक्षित गर्भपतन गराउनुपर्ने हुन सक्छ। यसरी गर्भपतन गराउनुका आफ्नै समस्या छन्। यसमा पनि पाठेघरमा गम्भीर असर पर्नेदेखि ज्यानै जान सक्ने पनि हुन सक्छ। गर्भ रहने, सो गर्भलाई निरन्तरता दिने र सन्तान जन्माउने निर्णय गरेर पिताको खोजी गरिएको स्थितिमा ग्राहकलाई पनि असजिलो पार्न सक्छ। भावनात्मक तथा मानसिक समस्याः अहिले समाजमा स्वीकार्य नभएको पेसा भएको हुनाले भावनात्मक चोट, तनाव, निरासा अनि चिन्ताजस्ता अनेक समस्याको सामाना गर्नुपर्ने हुन्छ। हामी धेरैजसो स्थितिमा यो कुरालाई विचारै गर्दैनौं। सधैँ आफन्त, परिवार र परिचितबाट छलेर अनि भयका साथ कुनै पेसामा संलग्न हुनु आफैंमा सजिलो कार्य होइन। हेयभाव, ग्लानिले निरन्तर रुपमा सताउने हुन सक्छ। यसका साथै रक्सी र अन्य नशालु पदार्थको सेवन पनि साथसाथै आउने स्वास्थ्य समस्या हो।
यौनपेसामा लागेका व्यक्तिबाट सेवा लिँदा ग्राहकको लागि पनि एक हेयभाव, चिन्ता, भय अनि अपराधबोधजस्ता भावनाले ग्रसित हुनपर्ने समस्या आउँछ। गलत काम गरें भन्ने कुराको ग्लानिले पनि कतिपयलाई एकदमै पिरोल्छ। अर्कोतिर कुनै यौनरोग तथा एचआईभी/एड्स सर्यो कि भन्ने चिन्ता र भयले पनि धेरैलाई सताउन सक्छ। कतिपय स्थितिमा चिन्ता किन भयो त भन्ने कुरा पनि अरुलाई व्यक्त गर्न नसकिने हुन्छ, जुन झनै पीडादायक हुन सक्छ। अनावश्यक रुपमा खर्च गरिने भएकोले घर चलाउन आवश्यक खर्च अपुग हुन थालेपछि यस्ता समस्या झनै थपिन्छन्। यौनशोषणः सतही रुपमा हेर्दा यौनपेसामा लाग्ने महिलाका लागि यौनशोषण समस्या नहुनुपर्ने जस्तो लाग्छ, तर उनीहरू अन्य महिलाका तुलनामा बढी यौनशोषणको सिकार हुन्छन्। यहाँसम्म कि उनीहरूले पनि बलात्कार हुने कुरासम्म भोग्नुपर्ने हुन्छ। अन्य महिलाको तुलनामा यौनशोषणले हुने पीडा बुझिदिने पनि कोही हुँदैनन्। वाँझोपनः विकासोन्मुख देशहरूमा करिब ७० प्रतिशतसम्म बाँझोपन यौनरोगसँग सम्बन्धित कारणले हुने गर्छ भन्ने अनुमान छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध यौनपेसासँग हुन्छ। श्रीमान् वा उसको साथीलाई लागेको यौनरोग श्रीमतीसम्म आइपुग्छ। यो तथ्य खुले पनि पैसा तिरेर सेवा किन्ने र साथसाथै रोग ल्याउने पुरुषलाई दोष नदिई यौनपेसामा लागेका महिलालाई दोष दिइने गरिन्छ। यौनरोगको वृद्धिसँगै कतिपय देशमा बाँझोपनमा पनि वृद्धि भएको देखिएको छ। बाँझोपनको कारणले परित्यक्त बनेका कतिपय महिला यौनपेसामा धकेलिन बाध्य हुन्छन्। यसले गर्दा एक किसिमको दुश्चक्रले प्रश्रय पाउँछ। यी स्वास्थ्य समस्या भए पनि उनीहरूलाई अन्य व्यक्तिहरूलाई जस्तो स्वास्थ्य सेवा लिन सजिलो छैन। उनीहरूप्रति गरिने हेयभाव वा भेदभावको कारणले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई टाढा बनाइदिएको हुन्छ। यसो हुँदा यौनरोगको स्रोतको रुपमा समेत रहिरन्छन्। कतिपय समाजमा पहिलेदेखि पवित्र मानिने यस पेसामा लागेका महिलालाई आदर-सम्मान गरिने भए पनि अहिले यसमा धेरै नै परिवर्तन भएको छ। समय बित्दै जाँदा समाज झनै यौनपेसाको विरुद्ध रहेको देखिन्छ। मार्गारेट स्याङर लगायत कतिपय महिलावादी नेतृहरूले पुरुषको दृष्टिले मात्र नहेरी फरक महिलावादी विचार अनि धारणा प्रस्तुत गरे। उनीहरूले यसलाई पुरुषप्रधान समाजअन्तर्गत पुरुष कामेच्छाको सिकार महिला भएको कुरा बताए। केही शताब्दीपहिलेदेखिको तथ्यांकलाई केलाउने हो भने धेरैजसो यौनपेसामा लागेका महिला गरिब, कम शिक्षित तथा विभाजित परिवारबाट आएका भेटिएका छन्। आर्थिक वा अन्य सामाजिक दबाबले उनीहरू यस पेसामा धकेलिने गरेको भेटिएको छ। औद्योगीकरणले यौनपेसाको माग बढाएको छ। औद्योगीकरणसँगै आफ्नो नियमित यौनसाथी वा श्रीमतीबाट टाढा रहने र सेवा खरिद गर्न सक्ने जमात ठूलो हुँदै गएपछि स्वाभाविक रुपमा नै यो फस्टाउने भयो। एक्काइसौं शताब्दीमा यसको बजारीकरणसँगै यो झनै बढेको छ। साथै लागूऔषधको कुलत लागेका महिलाहरूले अर्थोपार्जनको लागि यो पेसा अपनाउने कुरा बढ्दो छ। यहाँ मुख्य समस्या भनेको यस पेसालाई निर्मूल पार्ने कि व्यवस्थित गर्ने भन्ने मतका बीचको विवाद नै हो। समाज सुधारकरूले यो एक कलंकित पेसा भएकोले यसलाई निर्मूल पार्ने प्रयास पनि गरे तर माग अत्यधिक भएको हुनाले यो सजिलै बन्द हुने कुरा थिएन। समाधानका लागि निर्मूल पार्न सफल नभए पनि कानुनी दायराभित्र ल्याउने प्रयास गरियो। अर्कोतिर यसलाई नियन्त्रण गरिने प्रयास गरियो, जसमा स्वास्थ्य परीक्षण गरिने व्यवस्था गरियो। तर कतिपय कारणले चिकित्सासेवा वा सुरक्षाकर्मीहरू नियन्त्रित गर्ने कुराका पक्षधर रहे पनि वास्तविक रुपमा यो प्रभावकारी हुन सकेको छैन। अझै पनि यौनपेसालाई अनैतिक, सामाजिक अपराध ठान्ने जमात र सोच व्याप्त रहेको हामी पाउँछौं। यौनपेसामा लागेकाहरूलाई होच्याउने गरेको, खराबको संज्ञा दिने गरेको देखिन्छ। उनीहरूमाथि एकदमै नकारात्मक दृष्टिकोण राख्ने गरिन्छ। यसमा संलग्न पुरुषलाई भने खासै नकारात्मक तरिकाले हेर्ने गरेको देखिँदैन। पुरुषग्राहकले गर्ने शारीरिक वा मानसिक हिंसालाई पनि अपराध ठानिन्न। यस अर्थमा हेर्ने हो भने यहाँ यौनपेसामा संलग्न महिलालाई नै समस्या ठान्ने प्रवृत्ति नै अर्को प्रमुख समस्या हो। उन्मूलनवादी -ब्दयष्किष्यलष्कित)को विचारलाई विशेष गरेर धार्मिक र सामाजिक पुरातनवादीहरूले प्रतिनिधित्व गरेको पाइन्छ। उनीहरूको विचारमा यसले विवाहजस्तो सामाजिक परम्परा अनि वैवाहिक सम्बन्धले बनाएको संस्थालाई नै भित्रभित्रै क्षति पुर्याउने गर्छ। यसले महिलाको शोषणलाई बढाउँछ। अनि देशको नैतिक छवि र वातावारणलाई विषाक्त बनाउँछ। उनीहरूको विचारमा यौनपेसामा लाग्न पाउनुपर्ने माग आधिकारिक रुपमा स्वेच्छिक माग हुनै सक्दैन। तर अर्कोतिर नियमनवादी -च्भनगबितष्यलष्कत) को विचारमा यो संसारको सबैभन्दा पुरानो पेसा समाजको भित्रैसम्म गाडिएको छ। त्यसैले यसलाई निर्मूल पार्ने प्रयास असफल हुने मात्र होइन, बेकार पनि छ। समाधानका उपाय सतही रुपमा हेर्दा सजिलो लागे पनि यसको समाधान सजिलो छैन। पहिले प्रतिष्ठित ठानिएको यो पेसालाई त्यही गरिमामय रुपमा लानु एक प्रकारले समाधान हुन सक्थ्यो, तर सो सम्भव होला भन्ने कुरामा नै निकै ठूलो प्रश्न छ। यौनपेसाको व्यापारीकरण भएर यस स्थितिमा आइसकेपछि कतिपय स्थितिमा यो सान्दर्भिक नहुन पनि सक्छ। केही शताब्दीदेखि नै यौनपेसामा लाग्नुको कारण र त्यसको प्रभावको चर्चा गर्दा महिलामै केन्द्रित भएर गरेको देखिन्छ। यौनसेवाको बजार अनि चर्को माग नभएको भए यौनपेसा नफस्टाउने कुरा मात्रै होइन, यसको अस्तित्व नै रहने थिएन। तर यथार्थ के हो भने माग ठूलो छ, त्यसैले यौनपेसामा लाग्ने व्यक्तिहरू पनि छन्। अहिले यो अन्तराष्ट्रिय रुपमा फैलिएको अति नै ठूलो उद्योग बनिसकेको छ। यो अति नै लाभदायक क्षेत्र बनेको छ र यसको बजार अझै बढ्दै जाने निश्चित छ। यसैको दुःखद पाटोको रुपमा नेपालका महिलाहरू यौनपेसाका लागि बेचिनुले सामाजिक र स्वास्थ्यसम्बन्धी जोखिमलाई झनै बढाएको देखिन्छ। अहिले पनि यौनपेसामा लागेका महिलालाई दोष दिइन्छ। मानौं महिलाहरूले विमोहन अर्थात् सेडयुस (Seduce) गरेर नै पुरुषहरू जालमा परेका हुन्। वास्तवमा यथार्थ यस्तो छैन। यौनदासीको रुपमा काम गर्नुपर्दा यौनपेसामा लागेकी महिलालाई मात्र होइन ग्राहकलाई पनि अन्ततः बढी जोखिम हुन्छ। स्वतन्त्र रुपमा इच्छाइएको बेलामा इच्छाइएको ग्राहकसँग यौनपेसामा संलग्न हुन सक्ने महिलाभन्दा यौनदासीको रुपमा काम गर्नुपर्ने महिलाको स्थिति झनै दर्दनाक मात्र होइन जोखिमपूर्ण हुन्छ। अझै बजारको उच्च मागका कारण यौनपेसामा संलग्न गराउन बालिका बेचबिखनको क्रम बढ्नुले त स्थिति झनै कहालीलाग्दो बनाउँदै लगेको छ। यौनपेसालाई व्यवस्थित गर्न सबैलाई दर्ता गर्ने र स्वास्थ्यपरीक्षण एवम् अन्य जनस्वास्थ्यका उपाय अवलम्बन गर्नै पर्ने बाध्यात्मक नियम बनाउने एक उपाय हुन सक्छ। यसो गर्दा यौनपेसालाई कुनै व्यक्तिले स्वरोजगारको रुपमा पनि लिन सक्छन्। अन्य कसैको लागि काम गरेको भए जागिर खाएको वा काममा नियुक्ति लिएको जस्तै हुने हुँदा श्रमअनुसारको पारिश्रमिकको सुनिश्चितता हुन्छ। दर्ता गर्दा यस पेसामा राज्य सहभागी भएको देखिन्छ। अर्कोतिर दर्ता नगरिएका यौनकर्मीको चाहिँ बेवास्ता हुने र उनीहरू एवम् उनीहरूका ग्राहकको स्वास्थ्य समस्याको समाधान नहुन सक्छ। साथै कानुनी दायराभित्र आउने भएको हुँदा यस पेसालाई अपराध होइन बरु अन्य उद्यम वा श्रम नै भएको मान्न सकिएमा स्थितिमा सुधार हुन्छ। स्वास्थ्य शिक्षा र व्यवहार परिवर्तन गर्ने समस्या समाधानको एक अर्को उपाय हुन सक्छ- यौनपेसामा लागेका व्यक्ति तथा उनीहरूको वास्तविक एवम् सम्भावित ग्राहकहरूलाई सुरक्षित यौनसम्पर्क गर्न प्रोत्साहित गर्ने। यसका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ। शंका लागेमा तुरुन्तै र अन्य अवस्थामा नियमित स्वास्थ्यपरीक्षण गरी आवश्यक उपचार गर्न प्रोत्साहित गर्ने कुराले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।
|
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |