उनले आफ्नो महिनावारी कहिले डेढ महिना त कहिले दुई महिनामा हुने बताइन्। उनका कुरा सुनेपछि डाक्टरले रजोनिवृत्ति हुने बेलामा यस्ता केही साधारण समस्या देखिन सक्ने बताए। केही समयपछि महिनावारी बन्द हुन्छ तर यसले जीवनमा कुनै नकारात्मक प्रभाव नपार्ने कुरा डाक्टरले बुझाए। साथै उनलाई यस्ता साधारण समस्या रोक्न के गर्न सकिन्छ भनेर सल्लाह पनि दिए। डाक्टरको सल्लाहअनुसार गरेपछि उनलाई हुने समस्या पूर्णरुपमा नहराए पनि धेरै कम भयो। त्यसको दुई वर्षपछि त उनको महिनावारी पूर्णरुपमा बन्द (रजोनिवृत्ति) भयो। उनका समस्याहरु पनि बिस्तारै एक-दुई वर्षछि बन्द भए।
जीउ तातो हुने, अनुहार रातो हुने, खलखली पसिना आउने, गर्धन तातो हुनेजस्ता समस्या पनि आउन सक्छ। यस्तो अवस्था एक मिनेटदेखि पाँच मिनेटसम्म रहन्छ। राति सुतेको बेलामा विशेषगरी टाउको र छातीमा खलखली पसिना आउने समस्या पनि केही महिलाहरुमा देखिएको छ। केही महिलाहरुले पसिनाले लुगा निथु्रक्क भिजेको सुनाउँछन् तर केही महिलालाई कुनै समस्या हुँदैन। महिनावारी रोकिंदा वा रोकिन सुरु हुने अवस्थामा केही हदसम्म प्राकृतिक रुपमा शरीरमा हुने परिवर्तनलाई कम गर्न सकिन्छ। यस्तो हुनुको कारण महिनावारी सुक्नुभन्दा केही वर्षअगाडिदेखि नै शरीरमा रहेको हर्मोन एस्ट्रोजेनको मात्रा कम हुने प्रक्रिया सुरु हुनु हो। यस्तो बेलामा कतिपय महिलालाई कुरा बिर्सने, यसै मनमा चिन्ता लागिरहने, निद्रा नलाग्ने र यौनइच्छामा कमी हुने हुन्छ। चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ। महिनावारी बन्द हुने प्रक्रिया एकै पटकमा हुँदैन। सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई-तीन महिना बिराएर हुने गर्छ। विभिन्न वैज्ञानिक अनुसन्धानले के देखाएका छन् भने महिनावारी सुक्ने बेलामा आउने समस्यालाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ। पश्चिमका महिलाहरुले यौनइच्छालाई बढी महत्त्व दिन्छन्। रजोनिवृत्तिपछि यौनइच्छा घट्न जान्छ भनेर त्यहाँका महिलाहरु हर्मोनको प्रयोग गर्छन्। तर पूर्वीय देशमा रजोनिवृत्तिको उमेरलाई महिलाहरु पारिवारिक जिम्मेवारीबाट मुक्त हुने समय मान्छन्। साथै धर्मकर्म र अध्यात्मतर्फलाग्ने समयको रुपमा पनि यस अवस्थालाई लिने गर्छन्। अनुसन्धानमा पाइएअनुसार अमेरिकाका महिलाहरुमा रजोनिवृत्तिका समस्याहरु बढी देखिन्छन्। तर जापानी महिलाहरुमा यसको समस्या कम देखिन्छ। यस्तो हुनुको कारण यसको सम्बन्ध परम्परा र संस्कृतिसँग रहनु हो। अमेरिकामा प्रत्येक महिलालाई जवान, राम्री देखिनै पर्छ। उनीहरु वृद्ध हुने प्रक्रियाको बारेमा कुरा गर्न त्यति रुचाउँदैनन्। तर जापानमा भौतिक विकास भए पनि त्यहाँको समाजले पूर्वीय संस्कृतिलाई अपनाइरहेको छ। त्यसैले बुढ्यौलीलाई उनीहरु अभिशाप ठान्दैनन्। त्यसैले रजोनिवृत्तिलाई जापानी महिलाहरु समस्याको रुपमा लिने गर्दैनन्। अमेरिकामा रजोनिवृत्ति भएका महिलाहरुमध्ये ४६ प्रतिशतले हर्मोन प्रयोग गर्छन्। तर जापानमा रजोनिवृत्ति भएका महिलाहरुमध्ये केवल ६ प्रतिशतले मात्र हर्मोनको प्रयोग गर्ने गर्छन्। नेपाली महिलाहरुले पनि यसलाई प्रायः उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठानेको पाइन्छ। यसै प्रसंगमा ७० वर्षीया माधुरी भन्छिन्- ँमहिनावारी बन्द हुँदा मलाई केही समस्या परेन। ४४ वर्षको उमेरमा अन्तिम पटक महिनावारी भयो तर मलाई केही समस्या भएन।’ रजोनिवृत्ति कसलाई कति वर्षको उमेरमा हुन्छ भनेर ठोकुवा गर्न सकिन्न। जसरी महिनावारी सुरु हुने प्रक्रिया कसैलाई ८ वर्षमा, कसैलाई १२-१३ वर्षमा, अझ कसैलाई १५ वर्षमा हुने गर्छ त्यसैगरी महिनावारी सुक्ने प्रक्रिया कसैलाई चाँडै ४०-४२ वर्षको उमेरमा हुन्छ भने कसैलाई ५०-५२ वर्षको उमेरमा पनि हुन्छ।
केही महिलाहरुमा चाहिँ डिप्रेसन, राति निद्रा नलाग्ने वा पातलो निद्रा हुनेजस्ता समस्या देखा पर्छन्। कसै-कसैलाई हाँस्दा, हाच्छ्युँ गर्दा, खोक्दा, पिसाब चुहिने पनि हुन सक्छ। यसले गर्दा कतिपय महिलाहरु जमघटमा नजाने, लामो यात्रा गर्न नरुचाउने पनि हुन्छन्। कसै-कसैले मैले केही बिर्सन थालें, सोचिराखेको बिर्सन्छु आदि भनेको पनि सुनिन्छ। परिवार नियोजनका साधानहरुको प्रयोग गरेको बेलामा -जस्तो- डिपो, ३ महिने सुई, ५ वर्षको लागि प्रयोग गरिने नरप्लान्ट) पनि महिनावारी रोकिन जान्छ। तर पछि यस्ता साधनहरुको प्रयोग छोडेपछि पुनः महिनावारी हुन सुरु हुन्छ।
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ। किनभने महिनावारी बन्द हुने बेलामा हाडको घनत्व कम हुँदै जान्छ र सामान्य ठक्करमा पनि भाँचिने सम्भावना हुन्छ। हाडमा हुने यस्तो समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। रजोनिवृत्ति हुने बेलामा केही महिलाहरुलाई बढी रक्तस्राव हुन सक्छ। यस्तो बेलामा खानामा विशेष ध्यान पुर्याउनुपर्छ। धेरै रगत जानाले रक्तअल्पता हुने सम्भावना बढी हुन्छ। रक्तअल्पताले फेरि हाडलाई पातलो पार्छ। हाड पातलो हुँदै जाने समस्याबाट बचावट गर्न क्याल्सियमयुक्त खाना भोजनमा बढाउनुपर्छ। ज्वानो, दही, राजमा, पालुंगो, दूध, तोफु, तिल आदि क्याल्सियमयुक्त वस्तुहरु खानुपर्छ। महँगा क्याल्सियम चक्कीहरु किनेर खानुपर्ने जरुरत प्रायः पर्दैन। हाड पातलो हुँदा खास कुनै लक्षण पहिले नै देखा नपरे पनि कहिलेकाहीँ चिप्लियो भने लड्ने बेलामा हाड भाँचिने र उपचार गरेपछि पनि जोडिन निकै समय लाग्ने हुन्छ। रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नु ठीक हुने कुरा वैज्ञानिकहरुले बताएका छन्। भटमासले प्रोटिन र लौहतत्त्व प्रदान गर्नुका साथै यसमा रहेको विशेष तत्त्वले शरीरमा एस्ट्रोजेन हर्मोनको पनि भूमिका खेल्छ, जसले मुटुको रोगबाट बचाउन मद्दत गर्छ। जापानी महिलाहरुमा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरुको भोजनमा भटमासजस्तो पौष्टिक खाना समावेश हुनु पनि एक हो भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएको छ भने। कुनै-कुनै महिला मानसिकरुपले तनावमा रहन्छन्। यस्तो बेलामा उनीहरुले आफ्नो दिनचर्यामा केही साधारण परिवर्तन गर्नु राम्रो हुन्छ। साथै योग तथा साधारण व्यायामहरु गर्न सुरु गर्नु बेस हुन्छ। विभिन्न स्वास्थ्यकर्मीहरुले रजोनिवृत्ति भएपछि महिलाहरुलाई मुटुको रोगहरु पुरुषको जस्तै हुन सक्छ भनेर औंल्याएका छन्। प्रजनन उमेरमा चाहिँ महिलाको शरीरमा भएका प्राकृतिक हर्मोनले मुटुको समस्या हुनबाट केही हदसम्म रक्षा गर्छ।
यो उमेरमा क्यालोरी भएका खानेकुराहरु सकेसम्म कम प्रयोग गर्नुपर्छ। २०-३० वर्षको उमेरमा जस्तो जे खाए पनि पच्छ भन्ने ठान्नुहुँदैन। जवानीको अवस्था भन्दा केही कम खाना खानाले तौल बढ्ने प्रक्रिया कम हुन्छ। धेरै महिलाहरुले रजोनिवृत्तिपछि तौल बढेको सिकायत गर्ने मुख्य कारण नै व्यायामको अभाव र बढी भोजन हो। कुनै बेला उमेर पुगेका महिलामा महिनावारी रोकिएपछि पुनः योनिबाट रक्तस्राव हुन थाल्यो भने यसले कुनै गम्भीर समस्या रहेको कुरा देखाउँछ। यस्तो बेलामा तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुपर्छ। ४०-४५ वर्षको उमेर पुगेपछि पायक पर्ने स्वास्थ्यकेन्द्रमा गई प्रजनन अ·हरुको जाँच गराउनुपर्छ।
· हाड मजबुत राख्न क्याल्सियमको जरुरत पर्छ। शाकाहारी व्यक्तिले दूध, दही, भटमास, बदाम, राजमा आदिबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन्। · हाडको घनत्वलाई बढाउन हिँड्ने, दौडने, भर्याङ चढ्नेजस्ता विभिन्न शारीरिक क्रियाकलाप गर्नु निकै महत्त्वपूर्ण हुने कुरा विभिन्न अध्ययन-अनुसन्धानले देखाएका छन्। आधुनिकताको अन्धो दौडमा हिँड्नै छोडियो भने हाड कमजोर हुँदै जान्छ। · सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ। हामीलाई दैनिक ३५० युनिट भिटामिन डीको जरुरत पर्छ, जुन हामी सहजैसँग दिनको १५-२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं। घाममा बस्दा सूर्यको किरणले नांगो छालामा छोएको हुनुपर्छ।
|
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |