यस्तै दाङ घर भई वन विभागमा कार्यरत आई.बी. बुढाको मुखको घाउ उपचार गरेको एक महिना बित्दा पनि निको भएन। यसको कारण पत्ता लगाउन उनको रगत परीक्षण गर्दा मघुमेह भएको पाइयो। बुटवल निवासी आर.एन.कार्की मधुमेहका रोगी हुन्। उपचार भैरहेकै बेला गिजाबाट रगत आउन थालेपछि दन्तचिकित्सककहाँ पुगेर उनले मुख र गिजा सफा गराए। लामो समयदेखि नियन्त्रणमा नरहेको मधुमेह नियन्त्रण भयो। लगातार बढाइँदै गरिएको मधुमेहको औषधि पनि घटाउनुपरेको उनले अनुभव सुनाए।
उपचारको सिलसिलामा पाइएका मुखस्वास्थ्यसँग सम्बन्धित यी केही उदाहरणहरु हुन्। यस्ता अनगिन्ती उदाहरणहरु हाम्रो समाजमा लुकेर बसेका छन्। मुखसम्बन्धी रोगले शरीरमा विभिन्न समस्या निम्त्याउँछ, जटिलता ल्याउँछ र रोगको निदान एवम् उपचारमा सहयोग पनि गर्छ। मधुमेहले अहिले विश्वव्यापी महामारीकै रुप लिएको छ। विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारभरि अहिले १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ भने २०३० मा दोब्बर भई ३५ करोड ६० लाखलाई हुनेछ। विश्व स्वास्थ्य संगठनका अनुसार भारत र चीन मधुमेहीको राजधानीका रुपमा चिनिएका छन्। भारत र चीनबीचको देश नेपालमा पनि समान रहनसहन, समान जीवनशैली र समान वातावरणले मेधुमेहको अर्को राजधानी नै नबनाउला भन्न सकिन्न। एक आंकडाअनुसार नेपालमा मधुमेही ४ लाख ३५ हजारको हाराहारीमा छन् र सन् २०३० सम्ममा १६ लाखको हाराहारीमा पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ। पुरुषभन्दा महिलाले कडा परिश्रम गर्ने भएकाले पुरुषमा बढी मधुमेह देखिएको छ। करिब ७० प्रतिशत मधुमेही सहरी क्षेत्रमा बसोबास गर्नेहरु छन्। मधुमेह लागेका करिब आधालाई रोगबारे जानकारी नै छैन।
पेटको दायाँ भागमा रहेको प्यान्क्रियाज ग्रन्थिले निकाल्ने इन्सुलिनको मात्रामा कमी हुन गई वा यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी वा ग्लुकोजको मात्रा बढ्नेे अवस्थालाई मधुमेह भनिन्छ। पहिला धनीमानीको रोग भनिने मधुमेह अहिले मध्यम र गरिब वर्गमा पनि देखिन थालेको छ। मधुमेह वंशाणुगत सर्ने रोग हो। आमा वा बाबुलाई मधुमेह भएको छ भने छोराछोरीलाई पनि हुन सक्छ। मोटो र तौल बढी भएका, ४० वर्षउमेर पूरा भएका, शारीरिक आघात र चिन्ता हुने व्यक्तिलाई यो रोग हुन सक्छ। त्यस्तै चार किलोग्रामभन्दा बढी तौल भएको शिशु जन्माउने आमा, जुम्ल्याहा दाजुभाइ वा दिदीबहिनी, पटक-पटक गर्भपतन भइरहने महिला, परिवार नियोजनको खाने औषधिहरु सेवन गरिरहेका महिलाहरु तथा स्टेरोइड, उच्च रक्तचापविरुद्धको औषधि र पिसाब बढाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई यो रोग हुने सम्भावना निकै हुन्छ। मधुमेहका लक्षण र जटिलता सुरुको अवस्थामा धेरैमा लक्षण, चिह्न तथा संकेत नदेखिन सक्छ। त्यस्तो लक्षण देखिइहाले पनि थाहा नहुने र यसकै लक्षण भनेर छुट्याउन पनि गाह्रो पर्ने हुन्छ। तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाइ लाग्नु, छिन्-छिन्मा पिसाब लाग्नु र पिसाब गरेको ठाउँमा कमिला वा कीरा देखिनु मधुमेहको शंका गर्न सकिने लक्षण तथा संकेतहरु हुन्। त्यस्तै विनाकारण अचानक तौल घट्नु, धमिलो देख्नु, पटक-पटक संक्रमण भइरहनु, घाउ-खटिरा सजिलै निको नहुनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जीउ चिलाउनु, चिडचिडेपन आउनु, मुख सुख्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, बान्ता हुनु आदि पनि मधुमेहका लक्षण हुन सक्छन्। मधुमेहको नियन्त्रण नगरेमा कालान्तरमा आँखा, मिर्गौला, स्नायु, रक्तनली, मुटुमा पनि असर पर्न थाल्छ।
सामान्य मानिसमा दाँत तथा मुखसम्बन्धीे समस्या भएर श्वास-प्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मष्तिष्कघात हुने सम्भावना बढी हुन्छ। गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र जन्मेको बच्चा शारीरिक तथा मानसिक रुपले कमजोर हुने सम्भावना हुन्छ। त्यस्तै मधुमेह भएका मानिसलाई दाँत तथा मुखसम्बन्धी समस्या हुन्छ। अनियन्त्रित रुपमा मधुमेह भएको मानिसमा दाँत कीराले खाने, दन्तहर्षा, पाइरिया, हड्डी छिटो खिइने, दाँत मिलाउने आदिको उपचार समस्याका रुपमा रहेको हुन्छ। साथै मुखका कुना-कुनामा सुजन हुने, सुख्खा रहने, चर्किने, फुट्ने, मुख पोलेको अनुभव हुने, असामान्य चेतना र झनझन भएको अनुभव हुने, र्याल वा थुकको उत्पादन र बहाव कम हुन गई बोल्न अप्ठेरो हुने, दाँत कीराले खानेजस्ता संक्रमण देखिन्छ।
त्यस्तै मुखमा घाउ-खटिरा आउने, मुखमा भएका सूक्ष्म जीवमा परिवर्तन आउने, प्रतिरोधात्मक शक्तिमा कमी हुने र दन्तसडनको सम्भावना बढ्ने हुन्छ। यसका कारण दाँत तथा गिजामा पीप जम्मा हुने, गिजा सुन्निने, दाँत हल्लिने, दाँत समाउने हड्डीको नोक्सान हुने, गुलियो दुर्गन्ध आउने, जिब्रोमा विभिन्न रोग जस्तै मेडियन रोम्बोइड ग्लोसाइटिस हुने सम्भावना हुन्छ। एक अनुसन्धाननुसार ४५ वर्ष उमेर नाघेका र मधुमेहको समस्याका साथै धूमपानको लत पनि भएका व्यक्तिलाई मुखस्वास्थ्यसम्बन्धी -पेरियोडेन्टल) रोगको जोखिम २० गुणाले बढी भएको पाइएको छ। साथै गिजाभन्दा मुनि र भित्र संक्रमण भएको छ भने ३० देखि ५० गुणाले मुख, गिजा र पेरियोडेन्टल रोगको खतरा बढ्छ। रगतमा चिनीको मात्रा हेरेर कम स्ट्रेस-स्ट्रेन -असर) पर्ने गरी जतिसक्दो घाउ, चोटपटक कम हुने गरी मधुमेहीको दन्तउपचार गर्नुपर्छ। पहिलेदेखि भएको वा तत्काल भएका घाउमा टाँका लगाउनुपर्छ। उपचार गर्दा जरुरी भए अगाडिदेखि नै एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने पनि हुन सक्छ। मुखको उपचार गर्दा ध्यान नपुर्याए मधुमेहका कारण घाउ निको नहुनेदेखि लिएर घाउ भएको अंग नै कुहिई काटेर फ्याँक्नुपर्ने पनि हुन्छ। साथै यसका कारण शरीरका अंगप्रत्यंगमा रोग लाग्ने सम्भावना पनि हुन्छ अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मधुमेहीको दाँत, गिजा र मुखसम्बन्धी रोगको उपचार गरी दाँत सफा गर्दा उसको रगतमा चिनीको मात्रा कम भई नियन्त्रणमा रहनुका साथै प्रयोग गरिरहेको औषधिको मात्रा कम गर्नुपर्ने अवस्था आएको थियो।
मधुमेह पत्ता लगाउन, मधुमेहीको स्वास्थ्य सुधार्न, मधुमेहलाई नियन्त्रणमा राख्न, औषधिको प्रयोगमा कमी ल्याउन वा मात्रा घटाउन र अनियन्त्रित मधुमेहबाट हुन सक्ने घातक परिणामबाट जोगाउन मद्दत पुर्याउने दन्तस्वास्थ्यलाई नेपालमा त्यति महत्त्व दिएको पाइँदैन। नेपालमा भएका मधुमेहसँग सम्बन्धित संघसंस्था तथा चिकित्सकद्वारा पनि उति महत्त्व दिइएको देखिंदैन। यसमा आ-आफ्नै सीमितता र बाध्यता पनि हुन सक्छन्। दन्तस्वास्थ्यलाई विश्व मधुमेह संघले समेत महत्त्वपूर्ण स्थान दिइसकेको छ र अनियन्त्रित मधुमेहबाट उत्पन्न हुन सक्ने जटिलतामा छैटौं जटिलता भनेर मानिसकेको छ। त्यसैले यसलाई नेपालमा पनि उत्तिकै महत्त्व दिने अपेक्षा गरिन्छ। (लेखक लायन्स स्वास्थ्य सेवा केन्द्र, चाबहिलका कार्यकारी निर्देशक हुनुहुन्छ।) |
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |