|
शंकर खनाल shankar_npj@wlink.com.np ४५ वर्षीया लक्ष्मी विश्वकर्मालाई क्षयरोग लागेको १५ वर्षभयो। उनले नेपाल र भारतका आधा दर्जनभन्दा बढी ठाउँमा उपचार गराइन्। उपचार गर्नका लागि ३ बिघा जग्गा पनि बेचिन् तर रोग निको हुन सकेन। बर्दिया जिल्ला सोरहवा गाउँ विकास समिति शान्तिपुरकी लक्ष्मीले जहाँसुकै उपचार गराउँदा पनि सबैले क्षयरोग नै भनेर औषधि दिए। सरकारी अस्पतालदेखि निजी क्लिनिक सबै ठाउँबाट औषधि खाइन् तर रोग बिसेक भएन। उनले विगत १८ महिनादेखि नियमितरुपमा औषधि खाइरहेकी छन्। उनलाई विगतको भन्दा यस पटकको औषधिले सन्चो हुन्छ कि भन्ने भरोसा लागेको छ। लक्ष्मी भन्छिन्- ँपहिले छाती र शरीर दुख्ने, सास बढ्ने, रगत उल्टी हुने गर्थ्यो। अहिले सन्चो हुँदै आएको छ। कहिलेकाहीँ सास मात्र बढेर आउँछ।’ सल्यान बामे-२, लाहाघाटका २५ वर्षका रामसिंह रानालाई पनि क्षयरोग लागेको ४ वर्षभयो। भारतको लखनउ, सुर्खेत, भक्तपुर र सल्यानमै उपचार गरेका रानाले उपचारका क्रममा खेत बिक्री गरे, यस क्रममा उनको लगभग डेढ लाख खर्च भयो तर रोग निको भएन। उनी २० महिनादेखि औषधि खाइरहेका छन्। पहिले दम बढ्ने, खोकी लाग्ने र ज्वरो आउने गथ्र्यो। अहिले ठीक भएको छ। राना भन्छन्- ँचिसो र गर्मी ठाउँमा गयो भने शरीर सुन्निने गर्छ, अरु समस्याचाहिँ छैन।’ बागेश्वरी-९, इगाउँका यमबहादुर रेस्मी मगर भारतको सुरतमा साडी उद्योगमा मेसिन चलाउने काम गर्थे। कमाइ पनि राम्रै थियो। खोकी लाग्ने, छाती दुख्ने र ज्वरो आउने गर्न थालेपछि उनले सुरतकै अस्पतालमा उपचार गराए। क्षयरोग लागेको थाहा भयो। ६ महिनासम्म नियमितरुपमा औषधि सेवन गरे। रोग लागेपछि उनले जागिर पनि छोडे। १९ महिनादेखि औषधि सेवन गरिरहेका मगर क्रमशः स्वास्थ्यमा सुधार भइरहेको बताउँछन्। उनी दैनिक घरबाट १३ किलोमिटरको दूरी साइकल चढेर आउँछन्। बढी साइकल चलाउँदा कहिलेकाहीँ सास बढ्नेबाहेक उनलाई त्यस्तो कुनै समस्या छैन।
तैपनि स्वास्थ्यमा धेरै सुधार हुँदै गइरहेको बताएका छन्। यस क्षेत्रमा डट्स प्सलका लागि आइएनएफलाई मुख्य केन्द्र र भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जलाई सहायक केन्द्रको रुपमा स्थापना गरिएको छ। आईएनएफमा १६, कोहलपुर शिक्षण अस्पतालमा ६ र भेरी अञ्चल अस्पतालमा १ जना गरी २२ जना क्षयरोगीले डट्स प्लस विधिबाट उपचार गराइरहेका छन्। डट्स प्लस के हो ? क्षयरोगको प्रभावकारी उपचारका लागि अहिले डट्स अर्थात् स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने विधि राम्रो मानिएको छ र नेपालमा यही विधि प्रचलित छ। डट्समा प्रयोग हुने औषधिहरु सर्वोत्कृष्ट मानिएका छन्। यो सेवा नेपालमा ८५ प्रतिशत प्रभावकारी भएको पुष्टि भइसकेको छ। डट्स विधिबाट उपचार गर्दा १५ प्रतिशतको मृत्यु हुने वा औषधि बीचैमा छोड्ने गरेको वा अन्य समस्या देखिएको छ। यसमध्ये १ प्रतिशतमा औषधिले काम नगरेको पाइएको छ। डट्सबाट उपचार गरेर पनि निको नभएका क्षयरोगीहरुलाई डट्स प्लस विधिबाट उपचार गरिन्छ। सरकारले विश्व स्वास्थ्य संघमार्फ ग्रीन लाइट कमिटी को सहयोगमा झन्डै २ वर्षअघिदेखि ५ वर्षका लागि डट्स प्लस कार्यक्रम ँपाइलट प्रोजेक्ट’ को रुपमा सञ्चालन गरेको छ। यो सेवा देशका ५ वटै विकास क्षेत्रमा सुरु गरिएको हो। पूर्वाञ्चलको मोरङमा नेपाल क्षयरोग निवारण संघ, मध्यमाञ्चल राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्र पोखरा, मध्यपश्चिममा आईएनएफ नेपालगन्ज र सुदूरपश्चिमाञ्चलमा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई क्षेत्रीय केन्द्र र आसपासका अन्य अस्पतालहरुलाई सहायक केन्द्रको रुपमा सञ्चालन गरी सेवा दिइएको छ।
मध्यपश्चिम क्षेत्रमा डट्स प्लस कार्यक्रमबाट औषधि सेवन गरिरहेकाहरुले तौल बढेको, खकार नेगेटिभ भएको, पहिलेकोभन्दा खाना बढी खान लागेको र स्वाँ-स्वाँमा पनि कमी आएको बताएका छन्। रानाको तौल ४६ किलोबाट ५७ किलो, विकको तौल ३७ बाट ३९ किलो र रेस्मी मगरको ४० बाट बढेर ५८ किलो पुगेको छ। तर उनीहरुलाई बेला-बेलामा समस्याहरु देखिने गरेका छन्। लक्ष्मी विकको राम्ररी नदेख्ने, राम्ररी नसुन्ने, औषधि खाँदा चक्कर आउने समस्या देखिएका छन्। रामसिंह रानाको भने शरीर चिसो र बढी गर्मी भएमा सुन्निने गरेको छ। उनले भने-ँपानीमा भिज्यो र बढी गर्मीमा गयो भने मुख, नाक, हातखुट्टा सबै सुनिन्छ।’ यस विधिबाट औषधि सेवन गर्दा केही क्षयरोगीलाई जोर्नीहरु दुख्ने, जन्डिस हुने, कान नसुन्ने, शरीर सुन्निनेलगायतका समस्या देखा परेको चिकित्सकहरु बताउँछन्। आईएनएफ क्षयरोग केन्द्रका डा. केशवराज शर्मा डट्स प्लसमा प्रयोग हुने ५ वटा औषधिले केहीलाई साइड इफेक्ट भएको र यसले बेला-बेलामा समस्या पार्ने गरेको बताउनुहुन्छ।
एक जना क्षयरोगीले ५ किसिमका औषधिमा एक दिनमा क्याप्सुल र चक्की गरी १३ वटा औषधि खानुपर्छ। चिकित्सकहरु धेरै औषधि सेवन गर्नुपरेकाले पनि औषधिको प्रभाव देखिने बताउँछन्। ँसमस्या आउनेबित्तिकै हामीले त्यो औषधि बन्द गरेर त्यसको एन्टिडोज दिन सुरु गर्छौं’, आईएनएफ क्षयरोग केन्द्रका डा. केशवराज शर्माले भने- ँहामी रोगीको समस्या समाधान नभएसम्म्म पुनः औषधि खुवाउँदैनौं।’ औषधिले समस्या पार्ने भएकाले पनि स्वास्थ्यकर्मीको निगरानीमा राखेर औषधि खुवाइन्छ। समस्या देखा परेमा तत्काल समाधानको प्रयास पनि गरिन्छ। औषधिले डिप्रेसनको समस्या हुने भएकाले रोगीलाई एक्लै छोड्नुहुँदैन। उनीहरुले जीवनदेखि विरक्तिएर आत्महत्या पनि गर्न सक्छन्। नेपालगन्जमा उपचार गर्न आएका एक जना दाङका क्षयरोगीले आईएनएफको छतबाट हामफालेको केन्द्रले जनाएको छ। त्यसैले यस्ता रोगीहरुलाई सकेसम्म एक्लो छोड्न नहुने र अभिभावकले निगरानीमा राख्नुपर्ने चिकित्सकको सुझाव छ। क्षयरोगीको गुनासो सरकारले डट्स प्लस कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा सञ्चालन गरेकाले एउटा विकास क्षेत्रको पनि कुनै एक ठाउँलाई केन्द्र बनाएर सेवा दिइरहेको छ। २ वर्षसम्म केन्द्रमा धाएर औषधि सेवन गर्नुपर्ने बाध्यता बनेको छ, जसका कारण गरिब परिवारका मानिसलाई उपचार निःशुल्क भए पनि बढी खर्चिलो भएको छ। २४ महिनासम्म भाडामा बसेर उपचार गराउँदा एक जना रोगीले मासिक झन्डै ३ हजार रुपियाँ जति आर्थिक भार बोक्नुपरेको छ। उनीहरुले सरकारसँग जिल्ला-जिल्लामा उपचारको व्यवस्था मिलाउन माग गरेका छन्। टाढाका बिरामीलाई यातायात, पोषिला खानेकुरा, घरभाडा र खाना खर्च उपलब्ध गराउन भनेका छन्। क्षयरोगी रामसिंह रानाले भने- ँसरकारले खाने, बस्ने व्यवस्था पनि गर्नुपर्छ। कोठाभाडाको खर्च पनि दिनुपर्छ।’ क्षयरोगी निको भए पनि पूर्ण स्वस्थ मानिससरह काम गर्न नसक्ने भएकाले आयआर्जनमूलक कामका लागि सरकारले सीप र सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन्। क्षयरोगी रेस्मी मगरले गुनासो पोखे- ँपहिले जागिर थियो, काम गरेर खाइन्थ्यो, अहिले कसले देला भन्ने चिन्ता लागेको छ।’ |
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |