पिउँदा नमिठो गन्ध आउने मूलपानीको पानीमा फलाम तत्त्व -आइरन) को मात्रा आवश्यकताभन्दा बढी भएको पाइएको खानेपानी परीक्षण विभाग महांकालका प्रमुख लता घिमिरे बताउनुहुन्छ। उहाँका अनुसार प्रतिलिटर पानीमा सामान्यतया फलाम तत्त्व शून्य दशमलव ३ मिलिग्रामसम्म हुनुपर्नेमा मूलपानीको पानीमा ३ देखि ४ मिलिग्रामसम्म रहेको छ। पानीमा फलाम तत्त्व बढी भएका कारण सो पानी पिउँदा सुरुमा दाँत र नङमा कस बस्दै गई कालो हुने, कपाल झर्न थाल्ने, छाला फुस्रो हुने र कपडा धुँदा कपडाकै रंग कालो र खैरो हुने शंकरापुर अस्पतालका डा. रमेश ढकाल बताउनुहुन्छ। फलाम तत्त्व बढी भए तापनि सो पानीमा रोग ल्याउने ब्याक्टेरिया शून्य छ। अर्कोतर्फ रक्तअल्पता भएका बिरामीलाई सो पानीले राहत दिने गरेको दाबी डा. ढकालको रहेको छ। तर पानीबाट फाइदा हुँदाहुँदै पनि प्रत्यक्ष जीवनमा नकारात्मक प्रभाव परेको छ। पानीले नकारात्मक प्रभाव भएको थाहा पाउँदापाउँदै पनि प्रयोग गर्न बाध्य भएको मूलपानी-७ का कुमार ढु·ाना बताउँछन्। गाईवस्तुलाई, तरकारी खेतीका लागि र खाना पकाउनको लागि सो पानीबाट फाइदा पुगेको छ। ँहामीलाई सम्बन्धित निकायले जस्तो पानी दिन्छ त्यस्तै पानी प्रयोग गर्र्छौं’ -उनी भन्छन्। पानीको शुद्धता जाँच गरी दिनको चार घण्टा पानी दिए झन् राम्रो हुने कुरा ढुंगाना बताउँछन्। सो पानीबाट पछिसम्म छालाको रोग रहन सक्ने डा. ढकाल बताउनुहुन्छ। फलाम तत्त्व बढी भएपछि दाँतमा कालो कस पछिसम्म रहन सक्छ। यसले गर्दा दाँत चाँडै झर्ने, गिजामा समस्या आउने, घाँटीमा समस्या आउन सक्ने, कपाल झर्ने, चाया पर्ने, पछि हड्डीलाई असर गर्ने र छालालाई दीर्घकालीन असर पर्न सक्ने डा. ढकाल बताउनुहुन्छ। पानी परीक्षण विभागका प्रमुख घिमिरेका अनुसार खासगरी पानीमा आइरन दुई किसिमको हुन्छ- फेरस अक्साइड र फेरिक अक्साइड। जमिनमुनिको पानी मेसिनबाट तानेर सबैतिर धारामा जान्छ। त्यो पानी सुरुमा सङ्लो हुन्छ। जमिनमुनि अक्सिजन कम हुने भएकोेले सुरुमा फेरस अक्साइड हुने र पानी सङ्लो देखिन्छ। बिस्तारै पानी बासी हुँदै जाँदा अक्सिजन बढी भएपछि फेरिक अक्साइड देखिन्छ। फेरिक अक्साइड भएको पानीमा पहेँलोपन बढी देखिन्छ। कस बढी बस्छ, लेग्रा र चिल्लोपन हुने गर्छ। सो पहेँलोपन, लेग्रा र चिल्लोपन नै फलाम तत्त्व वा आइरन हो। मूलपानीको पानी छानेर प्रयोग गर्नु उपयुक्त भएको विज्ञहरु बताउँछन्। खानेपानी परीक्षण विभाग महांकालकी प्रमुख लता घिमिरेका अनुसार पानीमा फलाम तत्त्व सन्तुलनमा राख्न बालुवा र गिट्टीबाट छान्न सकिन्छ। त्यस्तै एरिएसन एवम् फिल्ट्रेसनको माध्ययमबाट पानी छानेर पिउन तथा अन्य कार्य गर्न उपयुक्त हुने सुझाव उहाँ दिनुहुन्छ। उपत्यकाको पानीमा फलाम तत्त्व बढी रहेको छ। मूलपानीको पानीमा झनै बढी फलाम तत्त्व पाइएको छ। सो समस्याको दीर्घकालीन समाधानको लागि फिल्टर प्लान्ट बनाएर मूलपानीवासीहरुलाई पानी वितरण गर्नुपर्ने हो तर स्रोत-साधनको अभावमा फिल्टर प्लान्ट जडान गर्न नसकिएको महांकालका खानेपानी महाशाखा प्रमुख तिलकमोहन भण्डारी बताउनुहुन्छ।
|
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |