प्रत्येक वर्ष हुने हृदयघातका घटनामध्ये ३० प्रतिशत धूमपानको कारण हुने गरेको पाइएको छ। त्यसैले धूमपान मुटुको रोगको एउटा प्रमुख कारक तत्त्वका रुपमा रहेको छ। १० जना साधारण धूमपान गर्नेहरुमध्ये एक जना र पाँच जना अम्मली धूमपानकर्तामध्ये एक जना फोक्सोको क्यान्सरले मर्ने गर्छन्। फोक्सोको क्यान्सरको ८५ प्रतिशत, मुख-घाँटीको क्यान्सरको ६० प्रतिशत, पाठेघरको क्यान्सरको ३० प्रतिशत कारण धूमपान नै भएको प्रमाणित भइसकेको छ। त्यस्तै धूमपान छुँदै नछोएको मान्छेमा फोक्सोको क्यान्सर ०.५ प्रतिशत मात्रै पाइन्छ। अन्य मुख, जिब्रो, पिसाबथैली, खानानली, मिर्गौला, प्यान्क्रियाज तथा रगतको क्यान्सर पनि धूमपान गर्नेहरुमा नै ज्यादा पाइन्छ। उच्च रक्तचाप, पक्षघात, हात-खुट्टाका भागहरु मर्ने, सुक्ने, कुहिने, काट्नुपर्ने अवस्था आउने पनि धूमपान गर्नेमा अधिक पाइन्छ। धूमपानका अम्मलीमा दम, धम्की, खोकीजस्ता दीर्घरोगहरु पनि धेरै मात्रामा पाइन्छ। त्यस्तै अमलपित्त -ग्यास्ट्रिक), मोतिबिन्दु, घाँटीमा अवस्थित गाणग्रन्थि, दाँत-गिजाका रोग, नपुषंक, न्यून तौलको बच्चा जन्मनु जस्ता रोग वा अवस्था र छाला चाउरी पर्ने, हात गन्हाउने, ओठ-गिजा नीला, नराम्रा, कलेटी परेका जस्ता हुने परिस्थितिमा पनि धूमपान नै प्रमुख कारण रहेको पाइन्छ। यो कहाली लाग्दो मानवसृजित समस्या हो।
जल्दै गरेको चुरोटको आगोपट्टि टुप्पोमा तथा वरिपरि ७०० डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ भने चुरोटभित्र ६० डिग्री सेन्टिग्रेड हुन्छ। यो विषम तापक्रमले चुरोटमा भएका विभिन्न हानिकारक रासायनिक तत्त्वहरुमा सयौं नयाँ अरु विषाक्त तत्त्व निर्माण गर्ने अवस्था ल्याउँछ। त्यसैले पनि चुरोट-सुर्तीमा रासायनिक तथा विषाक्त तत्त्वहरु अत्यधिक मात्रामा हुन्छन्। सुर्तीजन्य पदार्थका उत्पादकहरुले आफ्नो उत्पादनलाई शुद्ध, हानिरहित, फिल्टरयुक्त, कडा, नरम, बास्ना आउने भनेर प्रचारबाजी गरे पनि यो भ्रम मात्र हो। कुनै पनि सुर्तीजन्य वस्तु सुरक्षित हुँदैनन्। धूमपानको समस्याबाट बच्ने एउटै उपाय हो धूमपान पूरै त्याग्नु। त्यस्तै धूमपानको प्रभावले भएका शारीरिक समस्याको समाधान राम्रो खाना खाएर, औषधि सेवन गरेर मेटाउन सकिंदैन। त्यस्तो प्रभावबाट बच्नु भनेको धूमपान सुरु नै नगर्नु तथा गल्तीले सुरु गरिएमा आत्मबलका साथ यसलाई पूरै त्याग गर्नु हो।
सुर्तीजन्य वस्तुहरुमा सबभन्दा बढी पाइने हानिकारक तत्त्वहरुमा टार, निकोटिन तथा कार्बन मोनोअक्साइड हुन् भने त्यसमा अन्तरनिहित हजारौं रासायनिक पदार्थमध्ये ४ सय त विषाक्त तत्त्व नै छन्। त्यस्तै यी तत्त्वहरुमा ४० वटा त क्यान्सरका कारक तत्त्व नै भेटिएका छन्। अझ त्यसमाथि बास्ना, प्रभाव बढाउन भनेर थपिने ६० प्रकारका रासायनिक तत्त्वहरुले पनि स्वास्थ्यमा लाभभन्दा हानि नै बढी पुर्याउँछन्। सूर्तीजन्य पदार्थमा पाइने कार्बन मोनोअक्साइड, टार, बेन्जिन, र्फमल्डिहाइड, एमोनिया, एसिटोन, आरसेनिक, हाइड्रोजन सायनाइड तथा अन्य धेरै विषाक्त तत्त्वहरुमध्ये कुनै कीटनाशक, कुनै पाइखाना सफा गर्ने, कुनै मुसा मार्ने विषका रुपमा प्रयोग गर्ने गरिन्छ। कार्बन मोनोअक्साइडले शरीरभरि रगतमा अक्सिजन बोक्ने तत्त्व हेमोग्लोबिनमा अक्सिजनको स्थान लिएर अक्सिजनको आपूर्तिमा कमी गराउँछ। यसले शरीरका महत्त्वपूर्ण अंगहरु तथा रक्तनलीहरु प्रभावित हुन्छन्। यसबाट रक्तनलीमा कडापन आउने, रोग बढ्दै जाने, रगत जम्ने प्रक्रिया बढ्ने भएर नै हृदयघात, पक्षघात तथा हात-खुट्टाका छेउका भाग मरेर वा सुकेर जाने हुन्छ। यो खास प्रकारको धूमपान गर्नेलाई हुने रोग हो, जसलाई ँबरगर रोग’ भनिन्छ। यसको कारण धूमपान मात्रै हो भन्ने प्रमाणित भइसकेको छ।
त्यस्तै अर्को तत्त्व हो निकोटिन। यो लागूऔषध भएकाले यसले लत बस्ने, फुरुंग महसुस हुने, अस्थायी आनन्द महसुस हुने, माग बढ्दै जाने तलतल लाग्ने, आश्रति गराएर उम्कनै नसक्ने गरी माकुराको जालोमा कीरा फसेजस्तो फसाइदिन्छ। यसकै कारण हो धूमपान छोड्न गाह्रो पर्ने। अर्को टार भन्ने तत्त्वको रामकथा अरु गजब छ। जसरी धूवाँ फाल्ने चिम्नीहरुमा भित्री तह बनेको हुन्छ त्यस्तै श्वासनलीमा तह बनाएर प्रत्यक्ष तथा परोक्ष प्रभाव पारी क्यान्सरको कारण बनेको हुन्छ। दिनको २० खिली चुरोट तान्ने व्यक्तिले एक वर्षमा २१० ग्राम टार -एक गिलास टार) भित्र तान्छ। अझ अम्मलीहरुले चुरोटको लगानीको सदुपयोग गर्ने निहुँमा तथा नशाको उपयोग र आफ्नो व्यक्तित्व दर्शाउने भ्रममा लामो सर्को तान्ने, धेरै बेर धूवाँ भित्र राख्ने गर्दा यो टार अरु धेरै तानिन्छ। यसले फोक्सोको लचकता घट्ने, कडा हुने, अक्सिजन आपूर्ति घट्ने, भित्रको कार्बनडाइअक्साइड पूरा नफ्याँकिने आदि भएर दम, धम्कीजस्ता दीर्घरोग थपिंदै जान्छ, गहिरिंदै जान्छ र जटिल हुँदै जान्छ। त्यस्तै जलेर, तातेर बन्ने हजारौं हानिकारक तत्त्व सीधै ओठ, मुख, घाँटी, श्वासनली, फोक्सोमा सम्पर्क भएर तथा रगतमार्फ सम्पूर्ण रासायनिक एवम् विषाक्त तत्त्वहरु शरीरभरि फैलिएर मुख, घाँटी, फोक्सो, पिसाबथैली, पाठेघर, रगत आदिको क्यान्सरको कारण बनेको छ। यस्तै ओठ-गिजा नीलो हुने, श्वास गन्हाउने, शरीरमा गन्ध आउने
धूमपानको कुरा गर्दा निष्क्रिय वा सुसुप्त धूमपान अर्को पक्ष छ। यसमा निर्दोष व्यक्तिहरु यसको कुप्रभावको सिकार बनेका छन्। धूमपान गर्ने महिलाको गर्भको वा काखको बच्चा, घरका अन्य धूमपान नगर्ने परिवार सदस्य आदि प्रभावित भएका हुन्छन्। त्यस्तै कार्यालयमा, सार्वजनिक स्थानहरुमा धूमपान गर्नाले अन्य निर्दोष व्यक्तिहरु पनि पीडित भएका हुन्छन्। धूमपान गरेर फ्याँकिएको धूवाँ श्वास फेर्दा शरीरमा गएर प्रभाव पार्छ। आफूले नगरेको धूमपानको कुप्रभाव झेल्न मानिस बाध्य भएका हुन्छन्। यसको प्रभावले कम तौल भएको बच्चा जन्मने, एलर्जी, दम देखिने, बच्चाको मृत्युसमेत हुने गरेको पाइन्छ। धूमपान नगर्ने श्रीमतीका श्रीमान्हरुले आफूले गरेको धूमपानको गन्ध र विषाक्त धूवाँलाई श्रीमतीहरुले कसरी सहने गरेका होलान् भनेर कहिल्यै ख्याल गर्नुभएको छ - अरुको पनि सम्मान गरौं र आफूलाई जस्तै सोचौं। धूमपानको लत बसेपछि छोड्न गाह्रो हुनुका धेरै कारण छन्। त्यसमा प्रमुख कारण त निकोटिन तत्त्व नै हो, जुन लागूऔषधिको गुणले भरपूर हुन्छ। त्यसैको कारणले तलतल बढ्ने, नपाएमा व्याकुलता र छटपटी देखापर्ने हुन्छ। अर्को खराव पक्ष हो स्वचालित हुने बानीको विकास। यी दुवै पक्षको ख्याल नगरेसम्म धूमपानको लतबाट बच्न वा छुटकारा पाउन गाह्रो छ। हजार सल्लाह सुनेर, भगवान् ढोगेर, छोरीलाई टीका लगाएर चुरोट छोडेपछि १५ दिन, एक महिना, २ महिनामा फेरि सुरु गर्ने मानिस धेरै भेटिन्छन्। तर्सथ साँच्चै छाड्ने हो भने ख्याल गर्नु पर्यो कि धूमपान छोड्ने आफूले हो अरुले होइन।
धूमपानको विपक्षमा अनन्त सूचना, सल्लाह तथा योगदान दिनु समाज, राष्ट्र तथा नागरिक सबैको कर्तव्य हो। सार्वजनिक स्थानहरु- यातायात, मन्दिर, स्कुल, अस्पताल, बगैंचा आदिमा धूमपान निषेध गराउनुपर्छ। विज्ञापन तथा बिक्री वितरणमा नियन्त्रण गर्नुपर्छ । खेलकुदमा चुरोट कम्पनीले सहयोग गर्ने भन्ने जस्तो लाज लाग्ने ँबाँदर नाच’ क्रियाकलाप बन्द गराउनुपर्छ।
|
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |