175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 

 

 

मेमोरी पावर तेजिलो बनाउने भोजन

 उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्त्व र अक्सिजन शरीरका हरेक रक्तनलीहरुमा दौडिरहेको हुन्छ । यही क्रममा मस्तिष्कमा रहेका कोषहरुमा पनि अक्सिजन र पोषण आपूर्ति हुन्छ ।

निरन्तर एवम् पर्याप्त मात्रामा मस्तिष्कमा अक्सिजन र पोषणको आपूर्ति भइरहेमा मस्तिष्कको कार्यक्षमता बढ्नुका साथै स्मरणशक्ति पनि वृद्धि हुन्छ । यसका लागि निश्चित खाद्यपदार्थको सेवन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।

माछा

अमेरिकास्थित सिकागोको एक मेडिकल युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार माछा नखाने व्यक्तिहरुमा भन्दा कम्तीमा हप्तामा एक पटक माछा खाने व्यक्तिहरुमा स्मरणशक्ति ह्रास हुने रोग १० प्रतिशतले कमी भएको थियो । पुरुष र महिला गरी ३ सय जनालाई ६ वर्षम्म माछाको सेवन गराएर सो अनुसन्धान गरिएको थियो ।

माछाको सेवन गर्नेहरुको स्मरणशक्ति आफूभन्दा ३ वर्षकम उमेरका व्यक्तिको सरह पाइएको सो अनुसन्धानले देखाएको छ । विशेषगरी बढी चिल्लो पदार्थ भएको माछामा ओमेगा-३ को मात्रा पर्याप्त हुने हुँदा हप्तामा तीन पटक यस्ता माछा सेवन गर्ने गरेमा स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागी कार्यक्षमता पनि बढ्छ ।

लेक ट्राउट, वाइल्ड साल्मोन, प्यासिफिक ओइस्टर( Pacific Oysters ) एट्लान्टिक म्याकरल  (Atlantic Mackeral) आदि माछाहरु मस्तिष्कको कार्यक्षमता बढाउनका लागि सेवनयोग्य मानिन्छन् । प्रशोधित दाना नखाई प्राकृतिक चरनमा चर्न पाएका कुखुराको अण्डा तथा ओखरमा पनि ओमेगा-३ तत्त्व पाइन्छ, तर माछामा जति भने पाइँदैन । त्यसैले माछाको सट्टा यस्ता खाद्यपदार्थको सेवनले पनि स्मरणशक्ति बढाउन केही मद्दत मिल्न सक्छ ।

कफी

कफीको सेवनले क्षणिक समयका लागि ध्यान केन्द्रित गर्ने र स्मरणशक्तिमा तीव्रता ल्याउने अस्टि्रयाको एक युनिभर्सिटीले गरेको अनुसन्धानबाट स्पष्ट भएको छ । एमआरआई प्रविधिद्वारा गरिएको सो अनुसन्धानमा सामेल गराइएका व्यक्तिहरुको मस्तिष्कको कार्यक्षमतामा तीव्रता आएको थियो ।

कफीले पुरुषभन्दा महिलामा बढी सकारात्मक प्रभाव पारेको पाइएको छ । किनकि कफीमा हुने तत्त्वलाई ऊर्जामा बदल्ने ( Metabolize ) क्षमता महिलामा बढी हुन्छ । त्यसैले महिलाका लागि कफी पिउनु लाभदायक छ । तर महिला हुन् या पुरुष,  कोलेस्टेरोल बढी भएका व्यक्तिले भने कफी पिउन कम गर्नुपर्छ ।

 

कोकाबिन

लगभग ३ हजार वर्षघि मेक्सिकोको एजटेक र मायन इन्डेनको समयमा कोकाबिनलाई गभवान्को खानाका रुपमा लिइन्थ्यो । वास्तवमा यसले हाम्रो दिमागी क्षमता बढाउने हुनाले आज झन् यसको महत्त्व बढेको छ । यसमा थियो ब्रोमाइन ( Theo Bromine), एन्टिअक्सिडेन्ट, फ्लाभोनोइड्स ( Flovonoids), क्याटेचिन ( Catechin) जस्ता तत्त्व हुने भएकाले मनमस्तिष्क स्वस्थ रहन मद्दत मिल्छ । जसले गर्दा दिमागको कार्यक्षमता बढ्छ ।

चकलेट पनि कोकाबाट बनाइन्छ तर ७५ प्रतिशतभन्दा बढी कोकाको प्रयोग भएको गाढा चक्लेट मात्र फाइदाजनक हुन्छ ।  चिनी, दूध, चिल्लोजस्ता कृत्रिम पदार्थ बढी मिसाएर बनाएको चक्लेट लाभदायक मानिदैन । कोकाबाट बनेको चक्लेटले दिमाग फूर्तिलो बनाई स्मरणशक्ति बढाउँछ ।

 

बेरिज

अन्य फलफूलको तुलनामा बेरिज ( Beries ) अर्थात् ऐँसेलु, काफल, चोथ्रोजस्ता फलफूलजन्य पदार्थमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसमा पनि ब्लुबेरी अझ राम्रो मानिन्छ । यसमा एन्थोस्यानिन्स (Antho Cyanins)  र पलाभानोल्स  (Flavanols) जस्ता तत्त्व पाइने हुनाले यसको सेवन गर्दा मस्तिष्ककोषहरु टुट्नबाट बचाउन सकिन्छ । साथै यस्ता प्राकृतिक तत्त्वहरुले स्नायुतन्तुलाई बिग्रिन र सुन्निनबाट बचाउने अनुसन्धानले पत्ता लगाएको छ ।

ब्लुबेरीमा पाइने फ्लाभोनोइड्स ( Flavonoids) जनावरमा प्रयोग गर्दा मेमोरी पावर बढेकाले मानिसमा पनि यसले स्मरणशक्ति बढाउने कुरा अनुसन्धानकर्ताले जनाएका छन् । त्यसैले स्मरणशक्ति बढाउन विशेषगरी ब्लुबेरीको सेवन उपयुक्त मानिन्छ ।

ग्रिन टी

प्रशोधन गरिएको ब्लाक टीभन्दा हरियो चियापत्ती (Green Tea) मा ४ गुणा बढी एन्टिअक्सिडेन्ट, क्याटेचिन (Catechin) हुन्छ । क्याटेचिनमा ६३ प्रतिशत(Epigallocatechin Gallate ), ११ प्रतिशत EC( Epicatechin), ६ प्रतिशत EGC (Epigaliocatechin) र ६ प्रतिशत  ECG (Epicatechin Gallate ) हुन्छ । यस्ता तत्त्वले मस्तिष्कको कार्यक्षमता बर्ढाई स्मरणशक्ति बढाउँछ ।

जापानिज अनुसन्धानकर्ताका अनुसार हरियो चियाले अल्जाइमरजस्तो मस्तिष्कमा हुने रोगलाई समेत न्यून गर्न मद्दत गर्छ । त्यसैले अन्य चियाभन्दा ग्रिन टी पिउने गर्नु धेरै लाभदायक मानिन्छ ।

 हरियो सागपात

हरियो सागपातमा फोलिक एसिडको मात्रा प्रशस्त पाइने हुनाले यसको सेवनले स्मरणशक्ति बढाउने कुरा अस्टे्रलियामा गरेको एक अनुसन्धानले देखाएको छ । साथै यसले मानिसको वैचारिक सक्रियतामा तीव्रता ल्याउँछ । होमोसिस्टाइन (Homocysteine ) को मात्रा बढी भएका व्यक्तिको स्मरणशक्ति कम हुने भएकाले त्यस्ता व्यक्तिका लागि फोलिक एसिडयुक्त सागपातको सेवन अत्यन्तै लाभकारी हुन्छ । त्यसैले मेमोरी पावर बढाउन हरियो सागपातको सेवन महत्त्वपर्ण मानिन्छ  ।

यी उल्लिखित खाद्यपदार्थ स्वास्थ्यका लागि सेवनयोग्य पदार्थ हुन् । जसले दिमाग स्वच्छ-स्वस्थ राख्छ, कार्यक्षमता बढाउँछ, स्मरणशक्तिमा वृद्धि गर्छ र बौद्धिक क्षमताको विकास गराउँछ । तर चिनी पनि धेरै खाए तीतो हुन्छ भनेजस्तै जुनसुकै खाद्यवस्तु पनि अत्यधिक सेवन गर्दाचाहिँ नकारात्मक प्रभाव पर्न सक्छ ।

प्रस्तुतिः बिनी श्रेष्ठ

स्रोतः इन्टरनेट

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.