![]()
|
बाथ जोर्नीका हाडहरु जोड्ने तन्तु (Connective Tissue) मा लाग्ने गर्छ । यसलाई एक वा एकभन्दा बढी जोर्नीहरुको ज्वलन पनि भनिन्छ । यसमा जोर्नीहरु सुन्निने, जोर्नीवरिपरिको छाला रातो हुने, दुख्ने तथा जोर्नीको गतिमा अवरोध आउनेजस्ता लक्षणहरु देखा पर्छन् । बाथ विशेष गरेर रिह्युम्वाइड आर्थराइटिस ( Rheumoid Arthritis )र युरिक एसिड शरीरमा बढी भएर हुने गाउटबाट हुन्छ ।रिह्युम्वाइड आर्थराइटिस एक दर्ीघरुपमा रहने समस्या हो । यसले धेरै जोर्नीलाई नोक्सान गर्छ र विरुप बनाउँछ । यसका साथै शरीरको अरु प्रणालीमा खराबी हुने र रक्तसञ्चारमा एन्टी ग्लोबुलिन एन्टिबडी रिह्युम्वाइड तत्त्वहरु देखा पर्छ । यो समस्या संसारभरि कुनै पनि वातावरण र जातिमा देखा पर्छ । विशेष गरेर पुरुषभन्दा महिलामा तीन गुणा बढी देखा पर्छ । यो समस्या प्रायः ३०-४० वर्षो बीचमा देखिए तापनि कुनै पनि उमेरमा देखा पर्न सक्छ । यो समस्याको कारण स्पष्ट छैन । वंशाणुगत, अटोइम्युनिटी -शरीरलाई रक्षा गर्ने तत्त्व नै खराब गर्ने अवस्था), रक्तसञ्चारमा रिह्युमाइड तत्त्व हुनुलाई पनि कारणहरु मानिन्छ । गम्भीर अवस्थामा जोर्नी खिएर नष्ट हुने कुरा जोर्नीको गति र शारीरिक तनावमा पनि सम्बन्ध राख्छ । धेरैजसो बिरामीमा यो समस्याको सुरुआत बिस्तारै जोर्नीको दुखाइ, जोर्नी नमोडिने -कडा हुने) र एकै नासले धेरै जोर्नीहरुको माथिल्लो भागहरु सुन्निएर हुने गर्छ । प्रथमरुपमा दुखाइको अनुभव जोर्नीहरुको गतिमा भए तापनि आराम गर्दा दुख्ने, बिहानै जोर्नीहरु कडा भएको अनुभव हुने कुनै पनि तीव्ररुपमा हुने ज्वलन आर्थराइटिसमा हुन्छ । विशेष अवस्थामा औंलाको सानो जोर्नी र खुट्टाका औंलाहरुमा असर पार्छ । औंलाका जोर्नीहरु सुन्निएर सलक्क पर्छन् भने खुट्टाका औंला सुन्निएर फराकिलो हुन्छ । अझ समस्या बढ्दै गएमा बिस्तारै फैलिएर नाडी, कुहिना र कुमका जोर्नीहरुमा समस्या देखा पर्छ र घुँडा, कर्ुर्कुच्चा, पैतालाका जोर्नीहरुमा पनि समस्या देखा पर्दै जान्छ । कम्मरको जोर्नीमा चाहिँ समस्या कडा भएको खण्डमा हुने गर्छ । तर घ्रि्रो दुख्ने र कडा हुनेचाहिँ साधारणतया हुने गर्छ । दाँत, कुम र छातीको जोर्नी साथै अरु जोर्नीहरुमा पनि समस्या देखा पर्दै जान्छ । कुनै अवस्थामा तीव्ररुपमा जोर्नी दुख्ने र कडा हुने समस्या लगातार केही घण्टा र दिनसम्म पनि हुने गर्छ । यस्तो समस्या भोग्ने तीन जनामध्ये एक जनामा धेरै जोर्नी सुन्निने र दुख्ने समस्या हुने गर्छ । १० प्रतिशत जति बिरामीमा सुरुआतमा तीव्ररुपमा जोर्नीहरु ज्वलन हुने, कडा रहने र विभिन्न लक्षणहरु जस्तै- ज्वरो आउने, तौल घट्ने, अति थकित हुने र आलस्य हुने गर्छ । समस्या अझ बढ्दै गएमा दुखाइ बढी हुने, मांसपेशी बाउँडिने र लगाताररुपमा जोर्नी नष्ट भएर जोर्नीको गतिमा अवरोध हुन जान्छ । साथै औंलाको माथिल्लो भाग राजहंसको घाँटीजस्तो हुने, पछिल्लो भाग टाँकको प्वालको आकारको र बूढीऔंला अंग्रेजी अक्षर ँजेड’ आकारमा परिवर्तन भएर जान्छ । खुट्टाका औंलाहरुको जोर्नी फुस्किने र नङ्ग्राजस्तो खुम्चिने हुन्छ । साथै खुट्टाका औंलाका टुप्पाहरुमा ढुंगाको टुक्रामा हिँड्दाजस्तो अनुभव हुन्छ । अनि पैतालाका जोर्नीहरु पनि साधारणतया खिएर नष्ट हुने गर्छन् । जोर्नीहरुमा देखिने समस्याबाहेक खान मन नलाग्ने, वजन कम हुने, थकित हुने र आलस्य हुने समस्या पनि हुन्छ । समस्या सुरु भएको केही हप्ता वा महिनापछि यो समस्या आउँछ । यी समस्या भएका रोगीहरुमा अरु लक्षण वा चिह्नहरु पनि देखा पर्ने गर्छन् । यो रोग भएको अवस्थामा औंलाहरु लाटो हुने, झमझमाउने, पोलेको जस्तो हुने, रगत नभएको, रातो वा नीलो भएर जाने पनि हुन्छ । सुन्निएर ज्वलनका साथै नष्ट भएका जोर्नीहरुको सँगैका हाडहरु खिएर जाने, मांसपेशी कमजोर हुने पनि हुन्छ । घुँडाको पछाडिको खाल्डो भागमा सिष्ट -वेकर सिस्ट) देखा पर्छ । यो सिस्ट फुटेको अवस्थामा पिँडौलाको मांसपेशी दुख्ने, सुन्निने र पानी भरिने पनि हुन्छ । छालाको मुनि पनि डल्लाहरु देखा पर्ने गर्छन् । यो समस्या भएको अवस्थामा आँखाका समस्याहरु पनि देखा पर्छन् । यो समस्या भएका बिरामीमा मुख सुख्खा हुने, आँखाको कोर्निया र कजकटाइभामा खराबी हुनुका साथै जोर्नीहरु नष्ट भएर जान्छन् । मांसपेशी सुकेर जाने र कलेजो तथा थाइराइडमा पनि खराबी हुन सक्छ । यो समस्या भएका बिरामीमा मुटुमा विभिन्न खालको समस्या देखा पर्छ । हृदयगति बन्द हुने, मुटुको आकार बढ्ने र मुटुलाई रक्तसञ्चार गर्ने रक्तनली कोरोनरी आर्टरीमा पनि समस्या देखा पर्छ । फोक्सोमा पानी भरिने र सुन्निने समस्या पनि हुन्छ ।
शरीरमा युरिक एसिडको मात्रा बढेको खण्डमा गाउट भन्ने समस्याको कारणले पनि जोर्नी दुख्ने गर्छ । युरिक एसिड शरीरमा उत्पन्न हुने विकारयुक्त तत्त्व हो । खानामा पाइने एक किसिमको रसायन प्युरिन पचाउने प्रक्रियाबाट युरिक एसिड बन्छ । शरीरले यसलाई मिर्गौलामार्फ पिसाबको रुपमा विर्सजन गर्छ । युरिक एसिडको उत्पादन अत्यधिक भएमा वा मिर्गौलाबाट शरीरमा उत्पादित युरिक एसिडलाई विर्सजन गर्ने कार्यमा कमजोरी भएमा रगतमा युरिक एसिड बढ्न जान्छ । सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा सात मिल्रि्रामभन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ । युरिक एसिड प्रायजसो उच्च प्युरिनयुक्त खाना, बियर, रक्सी, माछामासु, गेडागुडी, काउली, बन्दा आदि खाएमा हुन सक्छ । उच्च रक्तचापमा प्रयोग हुने पिसाब लगाउने औषधि -थाएजाइड र लुप) ले गर्दा पनि यो हुन सक्छ । साथै वंशाणुगत कारणले पनि युरिक एसिड हुने गरेको पाइन्छ । रगतमा युरिक एसिडको मात्रा बढी भए तापनि कतिपय बिरामीमा कुनै पनि लक्षण नदेखिन सक्छ तर कसै-कसैलाई युरिक एसिड जोर्नीमा जम्न गएर यसले गाउट भन्ने बाथ गराउँछ । गाउट भएको अवस्थामा यसले सुरुमा खुट्टाको बूढीऔंलामा टन्किएर दुख्ने र सुन्निने गराउँछ । रोग छिप्पिंदै गएपछि अरु जोर्नीहरुमा पनि असर पर्छ । विशेषगरी कर्ुकुच्चा, पैतालाको मध्यभाग, घुँडा, हातका साना जोर्नीहरु, कुहिना र नाडीमा पनि दुख्न सक्छ । तर खप्परका हाडहरु, मेरुदण्डका हाडहरु र शरीरका ठूला जोर्नीहरु विरलै मात्र दुख्छन् । गाउट प्रायजसो अधबैंसे र बढ्दो उमेरका पुरुषलाई हुन्छ तर महिलामा भने यो रोग प्रायः महिनावारी बन्द भएपछि मात्र सुरु हुन्छ । यो समस्यामा सामान्यतया एक पटकमा एक हप्ता जति सुजन रहन्छ र प्रायः बिहान सबेरै पाइला टेक्दा दुख्छ । लामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भइरहेमा पटक-पटकको जोर्नीको सुजनले प्रभावित जोर्नीहरु बिग्रिन्छन्, बा·न्िछन् र काम गर्न छाड्छन् । विभिन्न तन्तुहरुमा युरिक एसिड जमेर सेता गिर्खा देखिन्छन्, जसले गर्दा ती अंगको बनावट र काममा समेत असर पार्छ । मिर्गौलामा युरिक एसिड जम्न गई पत्थरी बन्ने र धेरै वर्षछि मिर्गौलाले काम नगर्ने पनि हुन सक्छ । रिह्युमाइड आर्थराइटिस भएका बिरामीहरुले चिसो, ओसिएको कोठामा नसुत्ने, चिसोबाट बच्ने र चिकित्सको सल्लाहबमोजिम गर्नुपर्ने फिजियोथेरापी वा व्यायाम मात्र गर्ने गर्दा राम्रो हुन्छ । केवल नदुख्ने औषधि खाएर रोगलाई कम गर्ने धारणा राख्नुभन्दा समय-समयमा चिकित्सकको परामर्श लिन उचित हुन्छ । त्यस्तै गाउटबाट जोर्नी दुख्ने बिरामीहरुले प्रशस्त पानी पिउने, तौल घटाउने, युरिक एसिड बढ्ने खानेकुराहरु नखाने र रोगको अवस्थाअनुसार व्यायाम र फिजियोथेरापी चिकित्सकको परामर्शअनुरुप गर्नुपर्छ । देशका विभिन्न भागमा बाथ निको पार्ने औषधि भनेर पुरिया अथवा नाम नभएको औषधि वा अनावश्यकरुपमा महँगो औषधि दिएर उपचार गर्नेहरुको ठूलै जमात भएको पाइएको हुनाले सबैले जानेर, बुझेर र सोधेर बाथ समस्याको उपचार गर्नु उपयुक्त हुन्छ । तर अर्काको लहलहैमा वा विज्ञापनको आधारमा उपचार गर्दा रोगीको अवस्था दयनीय हुनुका साथै आर्थिक नोक्सानी पनि भएर जान्छ । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |