पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !
कुनै पार्टीसँग सम्बद्धता नभएको बुद्धिजीवी नागरिक समाजको सदस्य हुने रहर गरिरहेको धरहरा नेपालका पार्टीपिच्छेका थरीथरीका नागरिक समाज देखेर अलमलिएको छ।
सामान्य रुपमा नागरिक समाजको सदस्य पदलोलुप हुँदैन उसले बढी राजनीति गर्दैन भन्ने मान्यता रहे पनि नेपालमा भने सबैभन्दा बढी राजनीति गर्ने पदलोलुप नागरिक समाजका भनिएका मान्छे नै हुने गरेका धरहरा वरपर चर्चा हुन थालेको छ।
हिजो बिहीबार आफूलाई नागरिक समाजका सदस्य मान्नेहरु एउटा क्लबमा भन्दै थिए- हामीलाई चाहियो प्रम।
राजनीतिक दलबीचको खिचातानीका कारण प्रमको निर्णय हुन नसकिरहेका उनीहरु पनि खिचडी पकाउन थालेछन्- तिमीहरुले सकेनौ हामीलाई देऊ भन्दै।
दलहरुको अकर्मण्यता हेर्दा उनीहरुको कुरा धरहरालाई नाजायज नलागे पनि यदि साँच्चै नागरिक समाजलाई नै प्रधानमन्त्री खाऊ भन्यो भने उनीहरुबीच के खिचडी पाक्ला र प्रमको पदको लुछाचुँडी कस्तो होला भनी धरहरा कल्पिरह्यो।
|
|