प्रतिमा भनेर बनाउन थालेको बन्यो शालिक



ईश्वरराज ढकाल, काठमाडौं
जीवित मान्छेको प्रतिमा र दिवंगतको शालिक । राष्ट्रकवि माधव घिमिरेको प्रतिमा बनाएर प्रधानमन्त्री केपी ओली र राष्ट्रकविले संयुक्त रुपमा अनावरण गर्ने भनी कलाकार विष्णुप्रसाद बरालले बनाउन थालेको अब त्यो शालिक हुने भएको छ ।

राष्ट्रकवि घिमिरेको आफ्नो जन्मस्थल लमजुङको पुस्तुनमा पूर्णकदको आफ्नै प्रतिमा अनावरण गर्ने चाहना पूरा भएन । लामो समयदेखि तयारीका क्रममा रहेको प्रतिमा बजेटका कारण नरोकिएको भए राष्ट्रकविको इच्छा अधुरो हुनेथिएन ।

राष्ट्रकवि सय वर्ष पूरा भएपछि सरकारले आयोजना गरेको सतवार्षिकी रथारोहण समारोहमा प्रम ओलीले मूर्तिकार बरालसँग भेट गर्नुभएको थियो ।

रष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहमा पूर्णकदको प्रतिमा निर्माण गर्न आग्रह गर्नुभयो– करिब दुई वर्षअघि प्रधानमन्त्रीसंँग भएको कुराकानीबारे बताउदै मूर्तिकार बरालले भन्नुभयो–, प्रधानमन्त्रीकै आग्रहअनुसार प्रतिमा बनाउने विषयमा प्रक्रिया थालें तर रकम जुटाउने विषयमा केही भएन ।

‘प्रधानमन्त्रीलेनै तीब्र इच्छा व्यक्त गरेपछि प्रतिमा निर्माण थालेको थिएँ, रकम नपाएपछि केही वर्ष स्थगित गरें । उहाँले भन्नुभयो– प्रम ओलीको बोली र आश्वासन पाएँ तर एक रुपियाँ पाइनँ ।

रकम आउने छाटकाट नदेखेपछि प्रधानमन्त्री भेट्ने प्रयास गरें, तर सकिनँ । प्रतिमा निर्माण गर्न बजेट अभाव रहेको विषयमा जानकारी गराउन विभिन्न माध्यम प्रयोग गरें, सफल भइनँ– बुधबार नेपाल समाचारपत्रसंँग निर्माण कुराकानी गर्ने क्रममा मूर्तिकार बरालले भन्नुभयो– ‘जसरी भएपनि राष्ट्रकविको प्रतिमा बनाएरै छाड्ने अठोट गरें ।’

‘करिब तीन साता अघिको कुरा हो, त्यसैबेला मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्ष बमबहादुर जितालीले समितिको तर्फबाट ५० हजार रुपियाँ उपलब्ध गराउनुभयो । त्यसपछि अध्यक्ष जितालीले काम शुरु गर्नु तपाईलाई सबै रकम दिन्छौ भनेपछि प्रतिमा बनाउन थालें’ –बरालको भनाई छ ।

मुर्तिकार बरालका अनुसार राष्ट्रकवि घिमिरेको पूर्णकदको प्रतिमा बनाउन ८ लाख रुपियाँ लाग्छ । प्रतिष्ठानका अध्यक्ष जितालीले काम शुरु गर्न खर्चको जोगार गरेको बताउँदै तत्काल बाँकी रकम तिर्ने विषयमा कुराकानी भैरहेको आश्वासन दिनुभएको मूर्तिकाल बरालको भनाइ छ ।

समितिको आश्वासनपछि काम शुरु गरेको मुर्तिकार बरालले शालिक बनाउने काम लगभग सकिसकेको छ । धातुमा ढाल्ने काम शुरु भैरहेको बताउँदै उहाँले भन्नुभयो–समयमै रकम प्राप्त भए अबको एक महिनाभित्र प्रतिमा निर्माण सम्पन्न हुन्छ ।

समितिले राष्ट्रकवि जिवितै हुनुभएको भए आउदो असोज ७ गते १ सय २ औ जन्मदिनको अवसरमा पुस्तुनमा अनावरण गर्ने तयारी थियो ।

 

प्रतिक्रिया दिनुहोस्