ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने भएको छ।
बोर्डले बुधबार राती परीक्षा तालिका निकाली परीक्षाफल प्रकाशन र प्रश्नपत्र छपाइको काम केन्द्रले गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिनुभयो।
कर्मचारी व्यवस्थापन गर्न मुस्किल भएकाले उक्त परीक्षा केन्द्रबाटै गरिने बोर्डको तर्क छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले आउँदो वर्ष भने प्रदेशबाटै परीक्षा सञ्चालन गरिने दाबी गर्नुभयो। उहाँले प्रश्नपत्र केन्द्र र उत्तरपुस्तिका छपाइ प्रदेशस्तरबाट हुने जानकारी दिनुभयो।
उहाँका अनुसार परीक्षाको आचारसंहिता बिगतकै जस्तो रहनेछ। बोर्डले पुरानो पाठ्यक्रमबाट ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि जिल्ला सदरमुकाम वा पायक पर्ने एउटै परीक्षा केन्द्रमा राख्न निर्देशन दिएको छ। उक्त तालिकाअनुसार एसइई चैत १० गतेदेखि शुरू भई २१ गते सकिनेछ। चैत १० र ११ गते क्रमशः अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा हुनेछ। यस्तै चैत १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान, १५ गते अनिवार्य सामाजिक अध्ययन, १६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १७ गते ऐच्छिक प्रथमका सबै विषय, १८ गते ऐच्छिक द्वितीयका सबै विषय र प्राविधिक धारको अन्य विषयसमेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ।
यो वर्षको एसईईमा करिब साढे ५ लाख विद्यार्थी सहभागी हुने बोर्डको आकलन छ। गत वर्ष चैत ८ गतेदेखि शुरू भएको उक्त परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाख विद्यार्थी सहभागी थिए। स्मरणीय छ, गत वर्ष एसईईको परीक्षाफल प्रकाशित गर्दा यसै वर्षबाट प्रदेश तहले नै परीक्षा लिने बताइएको थियो। शिक्षा ऐनमा पनि एसईई प्रदेशबाट सञ्चालन गर्ने उल्लेख छ।
प्रतिक्रिया